काठमाडौं, असोज १० । कृषि विकास बैंकको प्रणाली नै ह्याक गरी चार करोड ७३ लाख रुपैयाँ लुटपाट घटनामा कैलाश विकास बैंक पनि मुछिएको छ । कृषि विकास बैंकको ट्रेजरीबाट लुटिएको रकम कैलाश विकास बैंकको ट्रेजरीमा जम्मा भएको पाइएको छ ।
प्रहरीका अनुसार ह्याकरले कैलाश विकास बैंकको मकवानपुरस्थित पालुङ शाखामा सिरहाको लहानस्थित कृषि विकासको शाखा कार्यालयबाट लुटिएकोमध्ये १० लाख रुपैयाँ रकम जम्मा गरेको भेटिएको छ । तर, कैलाश विकास बैंकका कुनै पनि अधिकारी भने पक्राउ परेका छैनन् ।
सोही प्रकृतिको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले नुवाकोट मेघाङ–४ का ४३ वर्षीय लवाङ तामाङसहित चारजनालाई पक्राउ गरिसकेको छ । ह्याकरले कृषि विकासबाट लुटिएको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ कैलाश बैंकसँगै अन्य ११ व्यक्तिको बैंक खातामा जम्मा गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कृषि विकासले कैलाश विकास बैंकविरुद्ध जाहेरी नदिएकाले पक्राउ नगरिएको बताए । ‘ह्याकरले लुटेकोमध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको ट्रेजरीमा जम्मा गरेको भेटियो ।
यस्तै प्रकृतिको घटनामा संलग्न केहीलाई हामीले पक्राउ गरेका छौँ । तर, कैलाशको सम्बन्धमा त्यस्तो गरिएको छैन,’ एसएसपी थापाले भने, ‘यसका लागि पीडित पक्षको उजुरी आवश्यक छ । राष्ट्र बैंकले पनि अनुसन्धानका लागि स्वीकृति दिनुपर्छ । यी दुवै कार्य भएमा प्रहरीले जोसुकैलाई जतिवेला पनि अनुसन्धानमा ल्याउन सक्छ ।’
सातजना अझै फरार
प्रहरीका अनुसार कृषि विकास बैंकको रकम कैलाश विकास बैंकबाहेक अन्य ११ व्यक्तिको बैंक खातामा ट्रान्सफर गरिएको छ । प्रहरीले लवाङसहित पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ र रामकृष्ण भुसाललाई मात्रै पक्राउ गरेको छ । —नयाँ पत्रिकाबाट