काठमाडौं, असोज ८ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलबार राजधानीको बौद्धस्थित होटल हायातमा सम्पन्न साधारणसभापछिको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध प्यानल पत्तासाफ भएको छ । दुई वर्षे कार्यकालका लागि भएको उक्त निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समुहको शानदार जितसँगै नेकपा सम्बद्ध प्यानल पत्तासाफ भएको हो ।
बुधबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समुहबाट उम्मेदवारी दिएका बिष्णुप्रसाद गैरे अध्यक्ष पदमा बिजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी सत्तारुढ नेकपा निकट संयुक्त व्यवसायी समुहका सरोजकुमार पोखरेललाई ४७ मतान्तरले हराउँदै विजयी भएका हुन् । निर्वाचनमा कुल छसय १९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले तीन सय ३० मत पाए भने पराजित पोखरेलले दुई सय ८३ मत पाए । ६ मत भने खाली गएको थियो । संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक हुन् ।
त्यसैगरी, प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समुहका कमल तामाङले आफ्ना प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेलाई एक सय ५१ मतान्तरले पराजित गरे । द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएका छन् । कार्यसमितिका १० वटै सदस्यपदमा समेत लोकतान्त्रिक फोरमका उम्म्दवारहरु नै विजयी भएका छन् । विजयी सदस्यहरुमा कर्णराज कटुवाल, दिनेशकुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल रहेका छन् ।
यतिबेला म्यानपावर व्यवसायी संघमा नेकपाको पराजयले सत्तारुढ पार्टीमा खैलाबैला मच्चिएको छ । साना स्वरोजगारमूलकदेखि ठूला व्यवसायीसमेत आवद्ध निजी क्षेत्र नेकपा सरकारप्रति असन्तुष्ट भएको अर्थमा पनि यी परिणामलाई लिइँदैछ । तीनै तहका सरकारले लगाएको करप्रतिको असन्तुष्टि पनि यी निर्वाचनमा व्यक्त भएको विश्लेषण गर्न थालिएको छ ।
नेकपाले तीनै तहका चुनाव जितेर सरकार बनाएपछि भएका निर्माण व्यवसायी महासंघ, यातायात व्यवसायी महासंघ लगायतका संस्थामा पनि नेकपा उम्मेवार पराजित भइकेका छन् । तीन महिनाअघि सम्पन्न ठमेल पर्यटन परिषदको चुनावमा समेत दलीय प्यानल हुँदा नेकपाका उम्मेदवार पराजित भएका थिए ।
केही दिनअघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको उद्योग वाणिज्य संघ चुनावमा नेकपाले पराजय भोगेको एक साता नपुग्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा निर्माण व्यवसायी संघको चुनवमा पनि नेकपा उम्मेदवार पराजित भएका थिए ।
उद्योग वाणिज्य महासंघको केन्द्रीय साधारणसभा अगाडि भइरहेका बिभिन्न नगर तथा जिल्ला उद्योग वाणिज्य संघहरुमा नेकपाका उम्मेदवार धमाधम पराजित भइरहेका छन् । नेकपा पराजित भएका अधिकांश सामाजिक तथा उद्योगी व्यवसायहिरुको संगठनमा कांग्रेसका उम्मेदवारले जितिरहेका छन् ।
बैदेशिक रोजगार व्यवसायी संघको पराजयभन्दा केही दिनअघिमात्र पर्यटन व्यवसायीहरुको संस्था टानमा पनि नेकपाका अध्यक्ष उम्मेदवार पराजित भएका थिए ।