काठमाडौं, असोज ३ । रत्नपार्क तथा बालाजु पार्कमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा असोज २, ३ र ४ गते दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो । बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि २५ रुपैयाँ शुल्क लाग्ने गर्छ ।
संविधान दिवस भव्य रुपमा मनाउन पनि महानगरपालिकाले सहजीकरण गर्ने भएको छ । संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि समेत महानगरपालिकाले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने भएको छ । कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाइप राखेर ध्वजा पतकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने जस्ता काम पनि महानगरले गर्ने भएको छ ।
प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको र्याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४÷३ फिटका एक÷एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्ने छ। शिक्षा बिभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ । महानगरले महानगरबासीलाई आफ्नो घरमा ४÷३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ ।
दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने छ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ । त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउने छ ।
यस पटकको संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिक स्तरमा पुर्याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवर्द्धन गरिने भएको छ । दिवसको अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नागरिकहरुलाई पनि आह्वान गरिनेछ । –नागरिक दैनिकबाट