सुनसरी, भाद्र २३ । नेपाल खेलकुद महासंघको तत्वाधान, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता ईटहरी रङ्गशालास्थित कभर्डहलमा भोलि(मंगलबार)देखि आयोजना हुने भएको छ । आयोजकका अध्यक्ष बिरेन्द्र श्रेष्ठका अनुसार उक्त प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु ईटहरी आइपुगिसकेका र सम्पूर्ण तयारीसमेत पूरा भइसकेको छ ।
यस प्रतियोगिता संस्करणदेखि नयाँ आयाम थपिएको छ । राष्ट्रिय बरियतामा पुरुषतर्फ उच्च १६ र महिलातर्फ उच्च १२ मा रहेका खेलाडीहरुका लागि बरियता निर्धारण गर्नका लागि लिगका आधारमा प्रतियोगिता खेलाइने छ भने उक्त बरियतादेखि बाहेकका लागि खुला प्रतिस्पर्धा गराइने भएको छ । बरियताको प्रतिस्पर्धामा अन्य खेलाडीहरुले स्थान नपाएका कारण खेलाडीहरुको गुनासोलाई ध्यानमा राखेर यस पटकदेखि बरियता र बाहेकका लागि खुला गरि प्रतिस्पर्धा गर्न लागिएको श्रेष्ठले बताए । यसका साथै पुरुष तथा महिला युगल खुला, यु–१७ छात्र तथा छात्रा एकल र भेट्रान्स गरी नौ विधामा प्रतिस्पर्धा हुने समेत श्रेष्ठले जानकारी गराए ।
यहि २४ गते देखि २८ गते सम्म हुने प्रतिस्पर्धामा पुरुष खुलातर्फ ६२, महिला खुलातर्फ १६, पुरुष युगलतर्फ ३६ जोडी, महिला युगलतर्फ ११ जोडी, छात्रतर्फ ५५ र छात्रातर्फ ११ तथा भेट्रान्सतर्फ ३१ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रमुख निर्णायक उदय अर्यालले जानकारी गराए ।
नेपालमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन गर्ने योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईजले प्रतियोगितालाई विगतमा झै यस पटक पनि निरन्तरता प्रदान गरेको छ । करिब छ लाख रुपैयाँ बराबरको खेल सामाग्री योनेक्स सनराईजले प्रदान गर्ने छ । जसमा प्रतियोगिताको लागि आवश्यक सटल कर्क प्रमुख रहेको छ । नेपालमा योनेक्सको प्रतिलिपी सामानहरुले बजार लिएको र उपभोक्ताहरु ठगिएको कारण योनेक्सको असली सामाग्रीहरुनै नेपाली बजारमा प्राप्त होस साथै उपभोक्ताले आफूले गरेको खर्चको सदुपयोग होस भन्ने हेतुले नेपाल ब्याडमिन्टन संघको पहलमा हुने प्रतियोगितामा योनेक्सले प्रायोजन गर्न थालेको योनेक्स सनराईजका प्रमुख राजु बास्तोलाले बताए ।
करिब पाँच लाख ५८ हजार रुपैयाँको लागत रहेको प्रतियोगितामा बरियताका बिजयी उच्च तीन स्थानका खेलाडीहरुले नगद ५० हजार, २५ हजार र १२ हजार पाँच सय, महिला पुरुष एकल तथा जोडीका बिजयी उच्च तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र पाँच हजार, त्यस्तै छात्र तथा छात्रातर्फ बिजयी शिर्ष तीनले १० हजार, सात हजार र चार हजार तथा भेट्रान्सतर्फका खेलाडीहरुले गिफ्ट प्राप्त गर्ने आयोजकका अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगिताको उद्घाटन प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले बिहान ९ः३० बजे गर्ने कार्यक्रम रहेको छ ।