काठमाडौं, भाद्र २३ । बैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमणले अहिले मुलुक प्रभावित बनेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं.१ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं.५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएकोले अहिले मुलुक नै प्रभावित बनेको हो ।
त्यसैगरी, अहिले सम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंमा दुई र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् । साउन १ गतेदेखि भदौ २२ गते सम्म तीन हजार आठ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ । थपिएको यो संख्या सँगै बैशाखदेखि यता बिरामीको संख्या सात हजार नाघेको जनाइएको छ । साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ । प्रदेश नं.३ मा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने साउनदेखि यता दुई हजार १० जना नयाँ बिरामी थपिएका छन् । साउनदेखि यता प्रदेश नं.१ मा आठ सय ३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा आठ सय ९६, प्रदेश नं.५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।
चिकित्सकका अनुसार डेंगुको संक्रमण फैलिएपछि अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गर्ने नागरिकको चाप बढ्दै गएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।