काठमाडौं, भाद्र २२ । यहि भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएपछि अहिले संसदमा कानुन परिमार्जन गरी एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एसिड आक्रमण गर्नेमाथिको कारवाही गर्ने कानुन फितलो भएको भन्दै संविधानले निषेध गरेको मृत्युदण्डको कानुन ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।
कतिपय सांसदले संविधानले बर्जित गरेको मृत्युदण्डको कानुन माग गरेका छन् भने कतिपयले फितलो कानुनको आलोचना गरेका छन् । उनीहरुले पटक पटक किशोरी र युवतीहरु एसिड आक्रमणको शिकार हुने गरेकाले कडा कानुन र एसिड बिक्री वितरणमा समेत लाइसेन्स अनिवार्य हुनुपर्ने बताए । कांग्रेस नेतृ उमा अधिकारीले संसारका विभिन्न देशमा मृत्युदण्डको कानुन रहेको उदाहरण दिदैँ कानुनमा संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताइन् । विशेष समयमा बोल्दै उनले भनिन् ‘सरकार किन मृत्युदण्डसम्बन्धी कानुन ल्याउँदैन, किन टुलुटुल हेरेर बसेको छ ? फितलो कानुन देखाएर अपराधि छुट्ने अवस्था छ । म जोडदार रुपमा माग गर्छु, कानुनमा संशोधन गरेर मृत्युदण्डको व्यवस्था गरियोस् ।’ त्यस्तै, समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए । त्यसका लागि कानुन संशोधन गर्न पनि उनले आग्रह गरे । ‘एसिड आक्रमण गर्ने व्यक्तिले अत्यन्तै घृणित अपराध गरेको छ । मुस्कानको जिन्दगी नै बरबाद गर्ने अपराध गरेको छ । यस्तो दोषी कुनै पनि बाहनामा उम्किनु हुँदैन । कानुन संशोधन गरेर भए पनि एसिड आक्रमण गर्नेलाई जन्मकैद वा फाँसीको सजाया दिनुपर्छ’ उनले भने । एसिड आक्रमणमा परेकी किशोरीले यसको पीडा बाँचुन्जेल भोग्नुपर्ने भएकाले आक्रमणमा संलग्नलाई पनि बाचुन्जेल जेलमा राख्नुपर्ने सांसद यादवको भनाइ छ । साथै, उनले एसिड किनबेचमा पनि कडाइ गर्न माग गरेका छन् ।
सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संशोधन गरेर भए पनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरिन् । सांसद जुलीकुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गर्दै उनले भनिन्, ‘प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी बढाउ बेटी जोगाउ अभियान जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने अभियानको औचित्य हुने छैन ।’
सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गरिन् । सांसद पार्वता डिसी चौधरी मुस्कान खातुनको उपचार खर्च व्यहोर्न र दोषीलाई कडा कारवाही गर्न सरकारलाई आग्रह गरिन् । सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राईलगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
एसिड आक्रमणमा परेकी खातुनको अहिले काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।