एजेन्सी, २२ असार– विश्वकपकाे समय भएता पनि यतिबेलाकाे फुटबल दुनिया रियल मड्रिड स्टार क्रिस्टियानाे राेनाल्डाे इटालियन क्लब युभेन्टस जाने हल्लाले तताएकाे छ। इटालियन क्लब युभेन्टसले राेनाल्डाेलार्इ ८८ मिलियन पाउण्डमा खरिद गर्ने शिर्षक भएका दर्जनाैं समाचारहरू अन्तरराष्ट्रिय पत्रिकाहरूले प्रकाशित गरे ।
हल्लै हल्लाका बाबजुद इटालियन क्लब युभेन्टसले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई शनिबार सार्वजनिक गर्ने तयारी थालेको छ । रियल मड्रिडले रोनाल्डोलार्इ बेच्न तयार भएमा युभेन्टसले उनलार्इ शनिबार नै सार्वजनिक गर्ने तयारी थालेकाे अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
मिरर अनलाइनका अनुसार रोनाल्डो भित्र्याउन युभेन्टस र रियल मड्रिडबीच अन्तिम चरणको छलफल जारी रहेको छ । र, आफुले अघि सारेको प्रस्ताव रियलले स्वीकारेमा युभेन्टसले रोनाल्डोसंग शनिबार नै सम्झौता गर्ने तयारी गरेको समचारमा उल्लेख छ । रोनाल्डो भित्राउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई ८८ मिलियन पाउण्डको प्रस्ताव गरेको छ ।
यता, रोनाल्डोले पनि युभेन्टसको प्रस्तावलाई स्वीकार गरिसकेको समचारमा जनाईएको छ । समाचार अनुसार रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पारिश्रमिक पाउने गरी चार वर्षे सम्झौता गर्ने बताईएको छ ।
सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी रकममा रियल मड्रिड आएका रोनाल्डोको रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेको समचारमा उल्लेख छ ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।