काठमाडौं, भाद्र ६ । भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरुप अर्थात् बालगोपालको पूजा गरिन्छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।
आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिन ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गरिन्छ ।
सार्वजनिक विदाः
प्रदेश नम्बर दुईमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै शुक्रबार प्रदेश नम्बर दुईमा सार्वजनिक बिदा हुने जानकारी दिएका थिए । त्यसैगरी, गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले भदौ ६ गते शुक्रबारका दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।