बाँके, भाद्र ६ । बाँकेको खजुरामा संविधान दिवसको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनका अनुसार खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा २०७६ असोज ३ देखि ७ गतेसम्म संविधान दिवसको अवसर पारेर योगिनी कप फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतियोगीतामा बाँके र बर्दियाका जम्मा आठ समुहले सहभागिता जनाउने जानकारी गराइएको छ । सहयोगी आवाज (हिभ) नेपालको आयोजनामा र बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिका संयोजक तरिन्द्रबहादुर थापाले जानकारी दिए । बाँके जिल्लाको फुटबल विकासमा योगदान गरेका खेलकर्मीलाई समेत सम्मान गर्ने तयारी गरेको उनले बताए । युवाहरु पछिल्लो समय लागूपदार्थ दुव्र्यसनमा फसेर आफनो अमूल्य समय बर्बात गरिरहेकाले यस्ता समस्याबाट समाज पीडित भैरहेको बेला आफूहरुले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्न लागेको संयोजक थापाको भनाई छ ।
विगतको इतिहासमा खजुरा क्षेत्र फुटबलमा सक्रिय रहेको र यहाँ थुप्रै खेलाडीले राष्ट्रियस्तरमा आफनो प्रतिभामार्फत बाँकेलाई चिनाउन सफल भएको आयोजक समितिका संरक्षक रत्न खत्रीले बताए । प्रतियोगिताले खजुरा क्षेत्रमा घट्दै गएको फुटबलको लोकप्रियता बढाउने र कुलतमा लागेका युवालाई खेलमार्फत समाज विकासमा लाग्न सहयोग गर्ने उनको विश्वास छ ।
कार्यक्रममा जिल्ला फुलबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले खेलकुदको माध्यमबाट यहाँ बढ्दै गरेको लागूऔषध दुव्र्यसनीलाई न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । उनले प्रतियोगिता सफल पार्नको लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादन गर्दै आएको क्षेत्र भएपनि अहिलेसम्म यस्तो प्रतियोगिता सञ्चालन हुन नसकेकाले बताए ।
प्रतियोगिता फुटबलको अन्तराष्ट्रिय निकाय फिफाको नियम अनुसार संचालन गरिने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार र १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने संयोजक थापाले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगीता सञ्चालन गर्नको लागि करिब तीन लाख ५० हजार भन्दा बढि रकम खर्च हुने आयोजकको अनुमान रहेको छ ।