ललितपुर, साउन ३० । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो ।
सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन् । जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन् । त्यहीबेला उनलाई कुकुरले टोकेको थियो । तर उनले यो कुरा कसैलाई बताइनन् । कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो । केही दिनमा उनको घाउ निको भयो । साउनसम्म कुनै समस्या देखिएन । साउन १४ गते उनलाई महिनावारी भयो । महिनावारीको समयमा ढाड दुखेको बताएकी थिइन् । दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो ।
अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो । गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्याइएको थियो । अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो । बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन् । बाथरुममा पानी खोल्दा पनि डराउन थालिन् । गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ । उनीहरू पानी र हावाबाट डराउँछन् ।’
मेडिसिटीमा पुगेपछि डाक्टरले समस्या बुझ्दै जाँदा उनले कुकुरले टोकेको कुरा सुनाएकी थिइन् । त्यसपछि उनलाई टेकु लगिएको थियो । समस्या विकराल भइसकेकाले उनको उपचार हुन नसकेको गेलालले बताए । उनले आफूसँगै बस्ने साथी र होस्टल वार्डेनलाई समेत उक्त घटना नबताएका कारण समस्या भएको गेलालले बताए । यसै विषयमा अनुसन्धान गर्न जिल्ला स्वास्थ्य कार्यालयको टोली बुधबार घटनास्थल पुगेको थियो ।
रेबिज लागिसकेपछि बिरामीको श्वासप्रश्वासमा समस्या हुन्छ । पानी निल्न कठिन हुन्छ । ‘पानी देख्नेबित्तिकै घाँटीको नसा खुम्चिन्छ’, गेलालले भने, ‘हावा चल्दा पनि डराउँछन् ।’ उक्त संस्थाका अन्य बालबालिकालाई पनि रेबिजविरुद्धको सुई लगाइसकेको अनुगमन क्रममा भेटिएको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण कनिषा र उनका भाइ उक्त संस्थामा बसिरहेका थिए । एसईईमा ग्रेड ए ल्याएकी उनी जेहेन्दार र लगनशील थिइन् । भाइलाई कुकुरले टोक्दा टेकुमा पुर्याएर सुई लगाएकी उनले आफूलाई कुकुरले टोकेको कुरा भने ढाँटेकी थिइन् । –अन्नपूर्ण पोस्टबाट