काठमाडौं, साउन ३० । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । पत्रकार कनकमणि दीक्षितले आज बिहान दीक्षितको निधन भएको ट्विटरमा लेखेका छन् । उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन् ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
दीक्षितले ‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । यही साल यो कृतिले साझा पुरस्कारसमेत पाएको थियो । २०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाए । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो । उनको पहिलो रचना ‘कसले जित्यो कसले हार्यो’ कथा वि.सं.२०१९ मा ‘रूपरेखा’ मा प्रकाशित भएको थियो ।
उपन्यास, कथासंग्रह, संस्मरण, निबन्ध जस्ता उनका थुप्रै कृति प्रकाशित छन् । उनका मुख्य कृतिमा माधवी (उपन्यास, २०३९), चरैवेति (निबन्ध संग्रह, २०४४), त्यो युग (निबन्ध संग्रह, २०४७), हाम्रा ती दिन (निबन्ध, २०२९), म रुँदै बिर्सन्छु (संस्मरण, २०२७) हुन् ।
उनका ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।