उदयपुर, साउन २७ । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चायले आइतबार आत्महत्या गरेका छन् । उनले आफूले एक पैसा पनि नखाएको भन्दै सुसाइड नोट लेखि आत्महत्या गरेका हुन् ।
आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलंकीमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको छ ।
‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्, ‘प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु दुई सय वर्ष होस, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौंले सहयोग गर्नु ।’
उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । ‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । उनले थप लेखेका छन् ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।’ त्यसअघि उनले लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नु । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु, गोमाले रंगिन लुगा लगाउनु, १३औँ दिनमा सबै फुकाउनु ।
नेपाल निजामती कर्मचारी संगठन उदयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु भनी आग्रह गरेका छन् । उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलंकी रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन् ।