मोरङ, साउन २५ । मोरङको रंगेली नगरपालिका–९ मा बलात्कार गर्नेलाई मिलापत्र गराउने सात जना पक्राउ परेका छन् । उनीहरूले सुस्त मनस्थिति भएकी १६ वर्षीया किशोरी बलात्कार घटनालाई मिलापत्र गराएका थिए ।
पक्राउ पर्नेमा ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी छन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । उनीहरूविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दामा नै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरेको छ । गत असार २० गते राति ती किशोरी बलात्कृत भएकी थिइन् ।
अपराध लुकाउन खोज्ने १० जना अगुवामध्ये सात जना पक्राउ परेका हुन् । उनीहरूले बालिकालाई डेढ लाख पीडक पक्षबाट दिलाएर मिलापत्र गराएका थिए । तीन जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार भएका हुन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
युवतीलाई बलात्कार गर्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारी गत साउन ३ गते पक्राउ परेको छन् । घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी फरार छन् । घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर असार २६ गते मिलापत्र गरिएको थियो । भेलामा पीडित पक्षलाई मिल्न दवाव दिँदै मिलापत्र गराएर उपचार खर्च बापत डेढ लाख रुपैयाँ दिलाउने उधारो कागज गराइएको थियो । तीनै जना अभियुक्तले गत साउन ६ गतेभित्र उक्त रकम उपलब्ध गराउने कागजमा उल्लेख छ ।
प्रहरीले लामो समयसम्म मिलापत्र गराउनेलाई पक्राउ नगरेकाले केही फरार रहेको स्थानीयको भनाइ छ । पीडितलाई मिल्न दवाव दिएर गरिएको मिलापत्रको कागजमा १० जनाकै हस्ताक्षर छ । कागजमा तीन जना मिलेर बलात्कार गरेको कुरा प्रस्ट रुपमा उल्लेख गरिएको छ । –नयाँ पत्रिकाबाट