धादिङ, साउन २४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दा मृतकको संख्या पाँच पुगेको छ । प्रहरीका अनुसार आज बिहान ३ः३० बजेको समयमा सर्लाहीको मलङगाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस सडकबाट करिब सय मिटर तल त्रिशुली नदिमा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट दुई जनाको लास प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
बस नदीमा खसेपछि केही व्यक्तिले राति पौडेर ज्यान बचाए पनि बिहान ७ बजे दुई जनाको भने नदी किनारको खोंचबाट उद्धार गरिएको थियो । यात्रु बसमा मलङ्गवाबाट ३९ यात्रु र हरिपुरबाट दुई यात्रु चढेको यातायात समितिले जनाएको छ । सोही गाडीमा सवार बी१६ नं सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर चार जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य चार जना रहेका थिए । उनीहरु सबैको टिकट नभएको बताइएको छ । यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ ।
दुर्घटनामा १६ जना घाइते भएकाले उपचार भइरहेको छ । घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरु सर्लाही जिल्ला गमहरिया नपा–८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ला हरिपुर नपा–९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर रहेका छन् ।
काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेहरु भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर, जिल्ला सर्लाही कविलास गापा–४ बस्ने ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा–४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलङ्गवा नपा–११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा– ५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी–६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य दुई जनाको नाम खुलेको छैन ।