भक्तपुर, साउन २२ । उपत्यकाकै लामो झोलुङ्गे पुलको निर्माण सूर्यविनायक नगरपालिकामा शिलान्यास गरिएको छ । डोलिडारको एक करोड रुपैयाँको लगानीमा आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं.१० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो उक्त झोलुङ्गे पुलको शिलान्यास आज प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले गरेका हुन् ।
पुलको लम्बाइ दुई २५ मिटर रहेको छ । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करिब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ ।
सो क्रममा मन्त्री बस्नेतले भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताए । उनले भने, ‘अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिने छ, भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको छ, साना योजनाका विकास मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण हुनेछन् ।’ उनले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रंगशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने बताए ।
देशकै पर्यटकीय क्षेत्रको रुपमा भक्तपुरले आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउँदै सांसद बस्नेतले भक्तपुर उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सिलसिलामा निर्माणाधीन झोलुङ्गे पुल मितेरी पुलका रुपमा रहने पर्यटकको आगमन बढ्ने बताए । यस क्षेत्रमा मानवनिर्मित ताल बनाउने, साँगादेखि फुलचोकीसम्म पदमार्ग निर्माण गर्ने, काँक्राबारीलाई ‘अग्र्यनिक इको भिलेज’को रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।