काठमाडौं, साउन २० । आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजा अर्चना गरी मनाइँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।
नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ ।
आज बिहानैदेखि घरघरका साथै प्रसिद्ध नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ती एवं तस्विरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ ।
नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।