रग्बी खेलको जल्दोबल्दो खेलाडीको रुपमा परिचित श्रीजना राईको जन्मस्थल धनकुटा हो । नेपालमा रग्बी खेलको शुरुवातसँगै उनी पनि यस खेलकी परिचित अनुहारमा पर्छिन । रग्बी खेललाई सम्झना गर्नेले सायदै उनको नाम छुटाउदैनन् । बुबा लालध्वज राई र आमा माया राईको तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी रग्बी खेल पनि एकदिन फुटबल, भलिबल आदि जस्तै चर्चित खेल बन्नेमा विश्वस्त रहेको बताउछिन् ।
गाउँबाट उनी सानैछदा काठमाडौं शहर छिरेको उनको परिवारमा बुबा, आमा, दुई दिदी, एक बहिनी गरी ६ जना रहेका छन् । चार कक्षादेखि काठमाडौंमा पढ्दै आएकी उनी हाल स्नातक अध्ययनरत छिन् । चार दिदीबहिनीमा आफू साइली छोरी भएको बताउने उनी भन्छिन्, ‘परिवारमा म मात्रै खेल क्षेत्रमा छु र प्लस टु दिएपछि व्यवसायिक रुपमा खेलकुद क्षेत्रतिर लागेकी हुँ ।’
सानैदेखि चक्कचके, आमाबुबाको कुराहरु नमान्ने, प्राय केटाहरुसँग खेल्न जाने जस्तो हक्की स्वभावको भएको बताउने उनले गल्र्स स्कुल पढेको हुनाले १० कक्षा पढुनजेलसम्म महिलाहरुको समुहसँग भलिबल खेलिन् । एसएलसी पढ्दासम्म कुनैपनि खेलकुदको प्रतियोगिताहरुमा सहभागी नभएकी उनी त्यसपछि भने एक जना दिदीमार्फत जावलाखेल भलिबल क्लबमा सहभागी हुन पुगिन् । क्लबबाटै उनले प्लस टूसम्म भलिबल खेलिन् र विभिन्न प्रतियोगिताहरुमा भाग लिइन् ।
आफूले प्लस टूको परिक्षा दिएपछि तेकान्दो र भलिबल खेल्ने एकजना साथीले नयाँ खेल आएको छ, त्यता जाऔँ भनेकाले रग्बी खेलतिर गएको बताउने उनी भन्छिन्, ‘भलिबल छोडेर अहिले पूरै समय रग्बी खेलतिर छु । मैले आर्मीबाट भलिबल चार वर्षजति खेले । भलिबल खेल छोडेको अहिले आठ महिना भयो ।’ भलिबल र रग्बी खेल सँगसँगै खेलिराखेकी उनलाई खेलक्षेत्रबाट ति दुई खेलमध्ये एउटा छान्नुपर्ने अवस्था आएकाले रग्बी खेललाई छानेको बताउने उनले भलिबलमा बेस्ट लिब्रो पाएकी थिइन् । भलिबल र रग्बीमा विभिन्न ट्रफिहरु जित्दै आएकी उनी रग्बीमा सन् २०१८ को बेष्ट प्लेयर अफ द इयर भएकी थिइन् ।
रग्बी खेललाई नै लिएर विदेश यात्रामा १२ जनाको टिमसहित सर्वप्रथम सन् २०१५ मा चेन्याई गएको र त्यहाँ पाकिस्तानलाई पराजित गरेकोमा गर्व लागेको बताउने उनी भन्छिन्, ‘जे होस त्यहाँ एउटा गेम भए पनि जित्यौं र रग्बी खेलसम्बन्धमा अझ धेरै ज्ञान हासिल गर्ने मौका पायौँ ।’ त्यसपछि सन् २०१७ मा लाओस र २०१८ मा ब्रुनाईमा रग्बी खेल्न गएको नेपाली टिमले लाओसमा भने कुनैपनि टिमलाई जित्न सफल भएन । एसियन रग्बीले प्रोभाइड गरेको ब्रुनाईमा भएको रग्बी खेलको लागि भने श्रीलंकाको कोच नेपालको टिमलाई कोचिङ गर्न आउनु भएको र गेममा दोस्रो पटक पाकिस्तानलाई जित्न सफल भएको बताउने उनी भन्छिन्, ‘त्यसबेला हामीले कुनै टिमलाई पनि जित्न सकेनौं । नयाँ गेम, खेलाडीहरु पनि त्यति धेरै नभएको र ट्रेनिङ पनि खासै लिएका थिएनौं, त्यो भएर पनि जित्न सकेनौं । यि दुईवटा गेमबाट हामीले रग्बी खेलबारे धेरै नियमहरु लगायतका कुराहरु भने सिक्यौं ।’
पाकिस्तानलाई दुई पटक आफूहरुले पराजित गरेको र उनीहरुले नेपालमा रग्बी खेलाडीहरु राम्रो छ भनेको स्मरण गर्दै उनी भन्छिन्, ‘अब रग्बी खेलमा नेपालले धेरै राम्रो गर्छ र विदेशीहरुले पनि अब नेपाल फेरि खेल्न आउदा राम्रो बनेर आउछ भन्छन् ।’ नेपालीहरुको टिममा कसैको रनिङ्ग, कसैको ट्रयाकल, कसैको पासिङ्ग, कसैको डिफेन्स राम्रो भएको बताउने रग्बी खेलाडी श्रीजना भन्छिन्, अन्तिम वर्ष रग्बी गेम श्रीलंकामा खेल्यौं र त्यहाँ पनि धेरै अनुभव बटुलेर आयौं ।’
रग्बी खेलमा नेपालमा फस्ट इन्टरनेशनल स्कोररको रुपमा चिनिने खेलाडी श्रीजना हाल काठमाडौंको बागडोलमा बस्दै आएकी छिन् । उनी अहिले बिहान आफू ट्रेनिङ्ग लिने र साँझको समयमा केहि स्कुलहरुमा विद्यार्थीलाई हप्ताको दुई दिन रग्बी खेल सिकाउने गर्छिन् । पहिला धेरैलाई रग्बी खेलसम्बन्धमा थाहा नभएको तर अहिले भने प्रायलाई थाहा भएको बताउने उनी भन्छिन्, ‘पहिला मैले शुरु गर्दा चाहिँ रग्बी खेलबारे केहि थाहा थिएन तर अहिले सबैलाई थाहा छ ।’
कक्षा ६ देखिका विद्यार्थीहरुलाई रग्बी खेल सिकाउँदै आएकी उनी रग्बी खेल धेरै रमाइलो खालको भएको र यो खेल्न धेरै समय पनि नलाग्ने बताउछिन् । नेपालमा रग्बी खेलमा खेलाडीको रुपमा शुरुवात गर्नेमा पर्ने उनी धेरैले यो खेल भर्खर शुरु भएकोले छोडिदिएको तर आफूले भने निरन्तरता दिएको बताउछिन् । उनी भन्छिन्, ‘नयाँ खेल हो, यसलाई पनि निरन्तरता दियो भने राम्रो होला भन्ने लागेर यसैमा छु ।’
तीनवटा सेग्मेन्टमा खेलिने यो खेल ७ ए साइड, १० ए साइड र १५ ए साइड विरुद्ध खेलिन्छ । यि सबै खेलको कोर्स आ–आफ्नै किसिमको हुने बताउने उनी नेपाल अहिलेसम्म १५ ए साइड खेलमा नगएको र ७ए साइड खेल नै खेलिराखिएको जानकारी गराउछिन् । हाल नेपालमा भइराखेका रग्बीको प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी उनी रग्बीलगायतका खेलहरुमा अहिले नेपालमा सरकारलगायतका निकायबाट त्यति धेरै सपटो नभएको गुनासो गर्छिन् । विभिन्न निकायबाट यसलाई सपोट गरेदेखि रग्बी खेलले प्रगति गर्ने आशा राखेकी उनी भन्छिन्, ‘मलाई रग्बीमा खेलाडीहरु धेरै बनाउने मन छ । अहिले खेलाडीहरु कम भएकोले हामीलाई गाह्रो भइराखेको छ । भविष्यमा चाहिँ रग्बीमा खेलाडीहरु धेरै होस भन्ने लागिराखेको छ ।’
प्राय खेलकुद भनेपछि पुरुषहरुले नै बढी रुचाउने भएकोले होला अहिले आफूले सिकाउँदै गरेका विद्यार्थीमा पनि महिलाभन्दा पुरुषको संख्या नै बढी भएको बताउने उनी भन्छिन्, ‘अहिले महिलाहरु प्राय भलिबल कि फुटबल तिरै बढी जोड दिन्छन् । तर रग्बीमा आइसकेपछि उनीहरु फेरि रग्बीबाट जान चाहिँ खोज्दैन ।’ खेलमा आफैले सिकेका कतिपय कुराहरु आफै प्रयोग गर्न नसकिरहेको अवस्था पनि आउने गरेको बताउने उनी भन्छिन् ‘खेलकुदमा कोहि पनि पर्फेक्ट हुँदैन किनभने खेलमा कतिबेला के हुन्छ केहि पनि थाहा हुँदैन । सबै कुरा थाहा भईभई पनि खेलमा चुक्नु पर्ने अवस्था पनि आउँछ तर रग्बीमा पासिङ्ग र क्याचिङ्गमा पर्फेक्ट भयो भने चाहिँ राम्रो मानिन्छ ।’
प्लस टु पढ्दादेखि नै आफ्नो खर्च आफैले जुटाउँदै आएको बताउने उनी हालको आम्दानी बारे भन्छिन्, ‘मैले स्कुलमा रग्बी खेल सिकाउदा त्यति धेरै पैसा त आउदैन तर आउदै नआउने अर्थात् कमाई नै नहुने भन्दा पनि जति आउँछ त्यति आएको राम्रो हो । तर हुँदै नहुने भन्दा अहिले म जे जति कमाउछु त्यति ठिकै हो ।’ अन्त्यमा उनी भन्छिन्, रग्बीमा जति खेल्न सक्छु खेल्छु त्यसपछि कोचिङ्ग तिर लाग्छु, पछि त नयाँलाई पनि अवसर दिनु पर्छ ।’