दाङ, साउन १९ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो । साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो ।
उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए । घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए । उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्यो तर पत्ता लागेन । केही दिनपछि युवकको शव पोखरीमै भेटियो । यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा पाँच पुरुष र छ महिला छन् ।
प्रहरीका अनुसार इनारमा डुबेर चार जना र खोलामा डुबेर नौ जनाले ज्यानको ज्यान गएको छ । वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ । तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन् । एक वर्ष अवधिमा ५ नम्बर प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए । उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ । नदी, ताल, पोखरी र इनारमा डुबेर रूपन्देहीमा ३३, कपिलवस्तुमा २८ र नवलपरासीमा ५ जनाको मृत्यु भएको छ ।
यस्तै पाल्पामा १३, अर्घाखाँचीमा एक, गुल्मीमा ६ र प्युठानमा १४ जनाको डुबेर ज्यान गएको छ । डुबेर मृत्यु हुनेमा रोल्पामा ३, रुकुम पूर्वमा एक, बाँकेमा ४ र बर्दियामा २२ रहेको प्रवक्ता पोखरेलले बताए । पोखरी खन्ने तर तारबार र कुनै संकेत चिह्न नराखिँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेको घोराही–१७ का अमर आचार्यले बताए । घोराही उपमहानगरपालिकाले २० वटा कृत्रिम पोखरी निर्माण गरेको छ । ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन । उमहानगरले बनाएका पोखरीमा डुबेर ६ जनाले ज्यान गुमाइसकका छन् ।
सुख्खा स्थानमा सिँचाइ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ । तर सावधानी नअपनाउँदा पोखरी ज्यानमारा बन्दै गएको छ । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सिँचाइ, पर्यटन र पानीको स्रोत संरक्षणका लागि नगरले पोखरी बनाइरहेको बबताए । उनले भने, ‘हामीले पोखरी बनाउने र सचेतना मात्रै दिन हो’, चौधरीले भने, ‘यसमा सबै सचेत हुनुपर्छ ।’ घोराही उपमहानगरले चार करोड लागतमा थप पोखरीहरु निर्माण गर्ने योजना बनाएको छ । –अन्नपूर्ण पोष्टबाट