काठमाडौं, साउन १६ । भक्तपुर, सर्लाही, नवलपरासी(पूर्व), चितवन र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित सडकमा बा.१०च ४०२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सिन्धुली घर भएका ३२ वर्षीय कान्छा राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त दुर्घटनामा घाइते भएका चालक दोलखामैलुङ्ग गाउँपालिका–१ घर भएका २० वर्षीय प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ । त्यस्तै, भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित सडकमा ना.६त८६८ नम्बरको ट्याक्टरमा प्रदेश ३–०२–००३ प ५५२९ नम्बरको मोटरसाइकल बुधबार राति ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपाते गाउँपालिका–४ घरभएका २२ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप घर भएका रोजबहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको खोजि भइराखेको छ ।
सर्लाही, कविलासी नगरपालिका–८ अगरवास्थित सडकमा बिआर ०६ पिई २८२२ नम्बरको टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको तीन वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ सात घरेस्थित सडकमा ना.३७ प २६०० नम्बरको मोटरसाइकल ना.६ख ३४०१ नम्बरको ट्रकसँग बुधबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–१५ गुडार बस्ने ५८ वर्षीय रामप्रसाद अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकमा ना.७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक पर्सा वीरगंज घर भएका २० वर्षीय अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–३ बसामाडी लेवटस्थित सडकमा ना.६ख १५०० नम्बरको ट्रकले ना.३८प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनामध्ये शौरभ सुवेदीको चुरेहील हस्पिटल र अस्मितसुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।