काठमाडौं, साउन १६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार रातिदेखि आज बिहानसम्म देशभर एक दर्जनभन्दा बढी एनसेल तथा नेपाल टेलिकमका टावरमा आगजनी र तोडफोड गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी (पूर्व), सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी, बाग्लुङ र बाँकेका विभिन्न टावरमा विस्फोट तथा आगजनी भएको हो ।
प्रहरीका अनुसार देशभरिका २० ठाउँका २३ वटा टावरहरूमा आगजनी र तोडफोड भएका छन् । विस्फोट तथा आगजनी विप्लव समुहले गरेको हुन सक्ने अनुमान प्रहरीको छ । नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि पार्टीले बुधबार बन्दको घोषणा गरेको थियो । बन्द सकिएको राति देशभर आगजनी र तोडफोडका घटना भएका छन् । आगजनी र तोडफोड घटना एनसेल टावरमा बढी भएका छन् । विप्लव समुहले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालयमा विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसयता एनसेल टावरलाई लक्षित गरी विप्लव समुहले गतिविधि बढाएको छ ।
त्यसैगरी, अर्घाखाँचीस्थित प्राणेनी गाउँपालिका–५ अमजास्थित एनटिसीको टावरको मेसिनमा राति साढे ११ बजे आगलागी गराइएको छ । मूल गेटको ताला लगाउने कुन्डी भाँचेर टावरको एउटा पिएचपी र्याकमा आगो लगाइएको छ । र्याकभित्र रहेको सामान जलेर नष्ट भएको र त्यहाँ मट्टितेलको गन्ध आएको प्रहरीले जनाएको छ । धादिङको धुनिवेशी नगरपालिका–४ देवीस्थानको एनसेल टावरमा बिहिबार बिहान साढे ५ बजे तोडफोड गरिएको छ । तोडफोडबाट जेनेरेटर, ब्याट्री र तारहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । धादिङको सिद्धलेख गाउँपालिका–६ एनसेल टावरमा बुधबार राति साढे ११ बजे आगजनी र तोडफोड गरिएको छ । कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका–८ मननगराको एनसेल टावरमा जुटको बोरामा आगो सल्काएर केही व्यक्तिहरू फरार भएका थिए । बुधबार राति साढे ११ बजे टावरमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–१० कालिकास्थानको एनसेल टावरमा जुटको बोराको पुल्ठो बनाएर आगो लगाइएको छ । मध्यराति टावरमा आगो लागेपछि प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको थियो । आगलागीबाट टावरको फिडरमा क्षति पुगेको छ ।रुपन्देहीको गैडहवा गाउँपालिका–२ सानो धुपहीको एनसेल टावरमा मध्यराति आगजनी गरिएको छ । आगजनीबाट केवल तारको कभर नष्ट भएको छ । टावरको वरिपरि लगाइएको घेराको जाली काटेर भित्र छिरी आगो लगाइएको प्रहरीको भनाइ छ । धनगढी उपमहानगरपालिका–६ को एनसेल टावरमा मध्यराति नै आगजनी गरिएको छ । आगजनीबाट जेनेरेटर र कन्ट्रोल बक्समा क्षति पुगेको प्रहरीले जनाएको छ । कैलालीकै गोदावरी नगरपालिका–९ बल्मीको एनसेल टावरमा आगजनी गरिएको छ । बिहान २ बजे गराइएको आगलागीबाट टावरको मुख्य तार जलेर क्षति भएको छ । त्यहाँ नेटवर्क अवरूद्ध बनेको छ । नवलपरासी (पूर्व), कावासोती नगरपालिका–८ मगरकोटको एनसेल टावरमा बुधबार राति साढे ११ बजे आगजनी गरिएको छ । आगजनीबाट जेनेरेटर जलेर नष्ट भएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट तीन किलोमिटर मात्र दक्षिण पर्छ ।
सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका–१ भोटेचौरको एनसेल टावरमा आगो लगाइएको छ । बुधबार राति साढे ११ बजे सिलिण्डरमाथि टायर बालेर आगो लगाइएको प्रहरीले जनाएको छ । सिलिण्डर नपड्केका कारण क्षति कम भएको प्रहरीले जनायो । बुधबार राति ११ः४५ बजे डडेल्धुराको आलिताल गाउँपालिका काफलीको एनसेल टावरमा आगजनी गरिएको छ । टावरमा आगो लागेपछि नेटवर्क अवरूद्ध भएकाले खटिएको प्रहरी टोलीसँग सम्पर्क नभएको प्रहरीले जनाएको छ ।
मध्यराति पर्वतको राती मोदी गाउँपालिका–६ तिलाहरमा रहेको एनसेल टावरमा आगजनी भएको छ । आगजनीबाट जेनेरेटर, ब्याकअप र तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुक कोट क्षेत्रमा रहेको एनसेल टावरमा आगजनी भएको छ । राति साढे १० बजे गराइएको आगजनीका कारण त्यहाँको सञ्चार सम्पर्कविच्छेद भएको प्रहरीले जनाएको छ । बाग्लुङमा मध्यरातमा राति निसिखोला गाउँपालिका–७ को राजकुटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । आगलागीबाट टावरमा सामान्य क्षति पुगेको छ । बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ निहामुदपुरमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ । आगजनीले बिटिएस क्याबिनेट केबलका तार जलेका छन् । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ ।