काठमाडौं, साउन १५ । नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएको छ । अज्ञात समुहले नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा गएराति बम विस्फोट गराएका हुन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज उपत्यकासहित १५ जिल्ला बन्दको आह्वान गरेको छ । विप्लव नेकपाको बन्दका कारण उपत्यकामा खासै प्रभाव नपरे पनि उपत्यका बाहिरका जिल्लामा भने प्रभाव परेको छ । त्यस्तै विप्लव नेकपाले आह्वान गरेको साविकका बागमती, नारायणी र जनकपुर अञ्चल बन्दका कारण साविकको तुलनामा १५ प्रतिशतमात्रै सवारी साधनहरु उपत्यका भित्रिएको प्रहरीले जनाएको छ । उपत्यका बाहिरिने सवारी साधनहरु २० प्रतिशत मात्र चलेका छन् । रसुवा, गोर्खा र नुवाकोट जाने काउन्टर खुलेका छैनन् भने शैक्षिक संस्था धेरैजसो बन्द छन् ।
उक्त विस्फोटबाट वडा कार्यालयका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम विस्फोटमा विप्लव समुह संलग्न रहेको अनुमान गरिए पनि यो समुहले अहिलेसम्म यसको जिम्मामा लिएको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्यसैगरी, विप्लव समुहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समुहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् । नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।
त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा क्विक पार्टी प्यालेसको अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलामा कुकुर राखी सोबाट तार निकालेको अवस्थामा शंकास्पद वस्तु भेटिएएको थियो । मंगलबार राति पौने १२ बजे फेला परेको शंकास्पद वस्तुलाई मध्य पृतना सुपारेटार ब्यारेकबाट खटिएको नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्फोज गरेको थियो । उक्त स्थान वडा प्रहरी कार्यालय हेटौंडाबाट २ किलोमिटर पश्चिममा पर्छ ।
त्यस्तै, हेटौंडा–११, थार्नायाङस्थित शदा शिवम् पेट्रोल पम्पभन्दा १५/२० मिटर टाढा पूर्व/पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको शंकास्पद वस्तु बुधबार बिहान साढे ३ बजे फेला परेको थियो ।
शंकास्पद वस्तु देखिएपछि प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली खटिएको थियो । नेपाली सेनासँग समन्वय गरेर सवा ४ बजे बिहान उक्त बम डिस्पोज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त वस्तु डेटोनेटर भएको प्रहरीले जनाएको छ । हेटौंडा–११, चौकीटोलमा रहेको खाद्य संस्थान अगाडिको बाटोमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा अर्को शंकास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाले उक्त वस्तु डिस्पोज गरेको छ । जहाँ कुकरभित्र एउटा डेटोनेटर राखिएको फेला परेको प्रहरीले जनाएको छ ।
बम राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । यद्यपि उनको नाम भने गोप्य राखिएको छ । हेटौंडा उपमहानगरपालिका–४, परिजात पथस्थित नारायणी नर्सिङ कलेज हाताबाट ५ मिटर पश्चिमतर्फ प्रेसर कुकर बम फेला परेको थियो । नेपाली सेनाको मध्यपृतना सुपारेटार ब्यारेकबाट क्याप्टेनको कमान्डमा खटिएको टोलीले बिहान साढे ७ बजे उक्त बम डिस्पोज गरेको थियो । कुकरभित्र एउटा डेटोनेटर र गिटी बालुवा फेला परेको प्रहरीले जनाएको छ । उता नुवाकोटको ककनी गाउँपालिका–१, कागती गाँउस्थित १ नम्बर वडा कार्यालयको भवनमा ४÷५ जनाको समुहमा आएका मान्छेले राति साढे ११ बजे पेट्रोल बम प्रहार गरेका थिए ।
पेट्रोल बम प्रहारबाट वडा भवनको दुई वटा कोठामा रहेका कागजपत्र, फर्निचर, चार थान पंखा र दुई थान कम्प्युटर जलेका छन् । अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरक्षिकको कमान्डमा टोली खटिएको थियो । स्थानीय र प्रहरीको सहयोगमा राति साढे १२ बजे आगो निभाइएको प्रहरीले जनाएको छ ।