ललितपुर, साउन १३ । ‘एसिया प्यासिफिक रोबोट कन्टेस्ट, २०१९’ मा नेपालका दुई रोबोटले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगोलियामा हुने प्रतियोगितामा नेपालसहित चीन, भारत, जापान, भियतनामलगायत १८ देशको सहभागिता रहनेछ ।
तयारी अवस्थामा रहेका नेपालका दुई रोबोटलाई मंगोलियाले स्वीकृति दिएपछि प्रस्थान गर्ने रोबोटिक्स क्लबका शिशिर पन्तले जानकारी दिए । उनकाअनुसार ६ साउनमै दुबै रोबोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । उनले भने ‘हामीले रोबोट ६ साउनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाएका छौं । मंगोलियाबाट ग्रिन सिग्नल पाएपछि रोबोट त्यसतर्फ लाग्नेछन् ।’
रोबोट निर्माण टोली भने ४ भदौमा मंगोलिया पुग्ने क्लबले जनाएको छ । नेपालले सन् २००१ बाट प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । मेसेन्जर–१ र मेसेन्जर–२ नाम दिइएको रोबोट पुल्चोक इन्जिनियरिङ क्याम्पस रोबोटिक्स क्लबका विद्यार्थीले बनाएका हुन् । इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स तेस्रो वर्षमा अध्ययनरत १९ विद्यार्थीको समूहले एक वर्षमा रोबोट तयार पारेका हुन् । समीप श्रेष्ठ, डेनिस खतिवडा, निश्चल नेपाल, नवीन नेपाली, प्रशान्त भट्ट, रिषभमणि शर्मालगायतको समुहले दुई रोबोट बनाएको कल्बका अनिल साहदी मगरले जानकारी गराए । एक स्वचालित र अर्को म्यान्युअल रोबोट बनाउन चार लाख खर्च लागेको क्लबले जनाएको छ ।
प्रत्येक वर्ष नयाँ विषय
आयोजकले प्रत्येक वर्ष नयाँ विषय तय गर्छ । आयोजकले तय गरेको विषयमा प्रतियोगिहरूले रोबोट बनाउँछन् । दुई रोबोर्ट बनाउन क्याम्पसले चार लाख बजेट विनियोजन गरेको थियो । सीमित स्रोत, साधनका बीच विद्यार्थीले रोबोट तयार पारेको क्याम्पसले जनाएको छ ।