काठमाडौं, साउन १२ । सिराहा नगरपालिका–९ ठेगी बस्ने शिव कुमार सहनीको १४ महिनाको छोरा सोहन कुमार साफीको आफ्नै घर अगाडि खेल्ने क्रममा पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्युठान, गौमुखी गाउँपालिका–५ ठूलासिमबाट आफ्नै घरतर्फ जाँदा झिमरुक खोला तर्ने क्रममा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय किसन पुनको खोलाले बगाई शनिबार साँझ मृत्यु भएको छ । तेह्रथुम, छथर गाउँपालिका–३ पन्चकन्या बस्ने गुमानसिंह बिकको १० वर्षीय छोरा बादल बिकको घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबी मृत्यु भएको छ ।
रौतहट, गढीमाई नगरपालिका–३ गम्हरीयास्थित खोलामा नुहाउने क्रममा डुबी घाइते भएका सोही ठाउँ बस्ने शेष सोयबका ५ वर्षीय छोरा शेष समिम उपचारको लागि अनामिका अस्पताल गरुडा लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको छ ।
रसुवा, बर्षाको कारण गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे तातोपानी डाँडास्थित पासाङ ल्हामु (रसुवागढी–स्याफ्रुबेशी सडक) राजमार्गमा पहिरो आई टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको चालकसहित १० जना सवार ना.१ज ७८२४ नम्बरको टाटा सुमो जिप पुरिँदा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोलुखुम्बु सल्लेरी बस्ने ४७ वर्षीय वाङछु शेर्पा र सोही ठाउँ बस्ने ४० वर्षीय दावा शेर्पा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी टिमुरे र स्थानीय मेडिकल टिमुरेमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाँच जनालाई बीर अस्पताल, ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ भने दुई जना उपचारपश्चात फर्केका छन् । चालक सकुशल रहेकाले प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी, बर्षाको कारण कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने बिष्णु परियारको दुई तले कच्ची घर शनिबार राति अचानक भत्किँदा उनको १३ वर्षीय छोरा चुन्ने परियारको मृत्यु भएको छ । घर भत्किँदा घाइते भएका चुन्नेको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारपश्चात थप उपचारको लागि पाल्पातर्फ लैजाने क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाएकोमा थप उपचारको लागि पाल्पातर्फ पठाइएको छ । यस सम्बन्धमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार गरिरहेको छ ।