काठमाडौं, साउन १२ । भक्तपुर, हुम्ला, सुनसरी, धादिङ र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका–५ स्थित सडकमा शनिबार दिउँसो बा९५प ९४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सूर्यविनायक बस्ने सिन्धुपाल्चोक चौतारा गौरीगाउँ घर भएकी कान्छी श्रेष्ठको छोरा ९ वर्षीय दिप श्रेष्ठको युवामुरा अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार संखुवासभा खाँदबारी घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने २० वर्षीया एमी गुरुङलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुम्ला, खार्पुनाथ गाउँपालिका–३ रायास्थित कर्णाली नदीको किनारमा गत असार ३ गते सोही गाउँपालिका–५ स्थित कैलाबालु भन्ने स्थानमा भएको जिप दुर्घटनामा बेपत्ता भएकी सोही गाउँपालिका प्युसा बस्ने २४ वर्षीया कौडा परियारको शव शनिबार दिउँसो फेला परेको छ ।
सुनसरी, रामधुनी नगरपालिका–१ कृषिफार्मस्थित सडकमा शनिबार दिउँसो पेट्रोल पम्पमा तेलको पैसा दिन जाँदै गर्दा ना.३ख ४६७८ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ना.५ख ४९९७ नम्बरको बसका सहचालक बराह नगरपालिका–५ बस्ने ३५ वर्षीय खड्गबहादुर खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, थाक्रे गाउँपालिका–८ बेलाखोलीस्थित सडकमा बा.१७ च ५३६ नम्बरको गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक थाक्रे गाउँपालिका–६ बस्ने २८ वर्षीय बलराम तामाङको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सह–चालक मकवानपुर नौखण्डी बस्ने सन्दिप थोकरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित सडकमा ना.७ ख २५६१ नम्बरको ट्रकको पछाडी ना.५ख ४८१९ नम्बरको बस ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।