नुवाकोट, साउन १० । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीको बिहिबार बिहान मत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । बुधबार भर्ना भएकी वस्तीको बिहिबार बिहान मृत्यु भएपछि चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने मुख्य माग उनीहरुको छ । प्रदर्शनका कारण अहिले गल्छी–देवीघाट–त्रिशूली सडक अवरुद्ध भएको छ ।
वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माउनुभएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहिबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।
नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि काठमाडौं पठाएको छ । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए । ‘सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन् ।’ उनले भने, ‘चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।’
चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाएकी वस्तीको शव काठमाडौंबाट अन्तिम संस्कारका लागि बिहिबार राति नै नुवाकोट ल्याएर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पताल परिसरमा भेला भएर विरोध जनाइरहेएका छन् ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौं लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत अस्पताल पुर्याउन ढिलाइ भएको थियो । समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौँस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ ।