काठमाडौं, साउन ९ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, अफिसियल एवं खेलकुद पत्रकारलाई बुधबार एक कार्यक्रमबीच सम्मान गरेको छ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता टिम, अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता टिम, एथलेटिक्स, ब्याडमिन्ट र स्पेशल ओलम्पिकका पदक विजेता टिमलाई मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कार्यविधि बनाएर खेलाडीको सम्मान गरेको बताए । उनले केहि समय ढिला भए पनि कार्यविधि बनाएर पुरस्कृत गरिएको बताए । उनले पारा खेलाडीलाई पनि अन्य खेलाडीलाई जस्तै सम्मान गर्ने परम्पराको सुरुवात गरेको समेत बताए । उनले भने, ‘जुन खेलाडीले पदक जितेपनि आखिर त्यो देशको लागि एउटै पदक हो ।’
साफको उपविजेता टिम पुरस्कृत
नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले जनही ३२ हजार पाँच सय नगदसहित सम्मान गरेको छ । सरकारले साफ उपविजेता टोलीका २० सदस्यीय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरेको हो ।
गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली टोलीलाई सोमबार विराटनगर महानगरपालिकाले जनही ५० हजार र मंगलबार प्रदेश १ सरकारले जनही एक लाख रुपैयाँ दिई सम्मान गरेको थियो ।
यादव, प्रिन्स र तामाङलाई जनही एक/एक लाख
एथलेटिक्स खेलाडी अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र स्पेशल ओलम्पियमा पदक जितेका अजय तामाङ जनही एक लाख नगदसहित सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित, अजय र प्रिन्सलाई सरकारले बुधबार जनही एक/एक लाख नगदसहित सम्मान गरेको हो ।
यादवले गत चैतमा हङकङमा आयोजना भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । च्याम्पियनसिपमा अजितले तीन हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस्तै, अजितका प्रशिक्षक धनीराम चौधरीलाई सरकारले ५० हजार नगद पुरस्कार प्रदान गर्यो ।
युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले गत असोजमा दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू–१५ पुरुष एकलको उपाधि जितेका थिए । उनको पुरस्कार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिए । प्रिन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि चीनमा रहेका छन् । तामाङले भने स्पेशियल ओलम्पिकमा पदक जितेका थिए । स्पेसल ओलम्पिकमा रजत जितेकी महिमा कोइरालालाई पनि मन्त्रालयले नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
नेत्रहीन क्रिकेट टोलीलाई सम्मान
त्यसैगरी, पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएको छ । नेपालले पाकिस्तानलाई ४–० ले पराजित गर्दै पाँच खेलको सिरिज जितेको हो ।
भगवती भट्टाराईको कप्तानीमा नेपालले चार वटा खेल जितेको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले १५ खेलाडी र सात अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका थिए । १५ खेलाडीलाई जनही ५०/५० हजार र अफिसियललाई २५/२५ हजारबाट सम्मान गरिएको हो ।
त्यस्तै, नेत्रहिन क्रिकेट टोलीकी व्यवस्थापक ज्योती केसीले आफूले पाएको पुरस्कारमा ७५ हजार थप गरी नेत्रहीन ज्योती केसी महिला क्रिकेट पुरस्कारको लागि कोष स्थापना गरेकी छन् । उनले पुरस्कारको २५ हजारको चेक र थप ७५ हजारको चेक नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेलाई प्रदान गरिन् ।
उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।