काठमाडौं, साउन ३ । बिहीबार साँझ कैलालीको धनगढीको शहीद गेट नजिकै एक जनाको ज्यान जाने गरी भएको शक्तिशाली बिष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भएको छ । आज दिउँसो विप्लव समुहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।
विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् । घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरला पनि विप्लव समुहकै कार्यकर्ता भएको दाबी गरिएको छ ।
यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’ साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।
त्यसैगरी, आज बिप्लव समुहले इन्चार्ज ‘निर्माण’को नाममा विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण जिम्मा केपी ओलीको सरकारले लिनुपर्ने बताएको छ । विज्ञप्तिमा, ‘यस घटनाले सर्वसाधारण नागरिकहरूमा पर्न गएको असहाजताप्रति दुख व्यक्त गर्दछौं, यो दुखद् घटनाको पछाडि दलाल पूँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवाद सरकारले लिनु पर्नेछ’, भनिएको छ । विज्ञप्तिमा घटनामा मृत्यु भएका रामबहादुर सिंहलाई एकीकृत जनक्रान्तिको महान् शहीद भएको उल्लेख गरिएको छ ।