काठमाडौं, असार ३० । भोली मध्यरातदेखि तीन घन्टाभन्दा बढीको खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटबाट शुरु हुने ग्रहण बुधबार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुनेछ ।
सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छायाँ चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लाग्ने गर्छ । यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ । तर, क्यानडा र उत्तर अमेरिकामा बसोबास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।
यसपटकको चन्द्रग्रहणमा कर्कट, तुला, कुम्भ तथा मीन राशी भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले ग्रहण हेर्न हुने बताइएको छ । तर, मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकालाई भने यो ग्रहण नियाल्न नहुने ज्योतिषशास्त्रीहरुको भनाइ छ ।