गोरखा, असार ३० । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा एनआईसी एशिया बैंकले आफ्नो ४१औंँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गण्डकी गाउँपालिका वडा नं.८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् ।
सो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयहरूलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भइ ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
त्यस्तै, सो सेवाबाट स्थानीयहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम)को महशुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
हाल बैंकको दुई सय ९० शाखा कार्यालय, तीन सय दुई एटीएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।