काठमाडौं, असार ३० । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आज दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरो र डुबानमा परी काठमाडौंमा तीन जना, मकवानपुरमा छ जना, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा चार/चार जना, खोटाङ, धनुषा र काभ्रेमा तीन/तीन जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई/दुई जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा दुई सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा दुई सय जना, महोत्तरीमा पाँच सय जना, सिराहामा दुई जना, सर्लाहीमा एक सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन एक सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा एक/एक जना गरी जम्मा एक हजार चार सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परी डोल्पामा नौ जना, सिन्धुलीमा चार जना, ईलाम र मोरङमा तीन/तीन जना, महोत्तरी र मकवानपुरमा दुई/दुई जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक/एक जना गरी ३२ जना बेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
त्यसैगरी, धनकुटामा आठ जना, मकवानपुरमा पाँच जना, ललितपुर र सिराहामा तीन/तीन जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा दुई/दुई जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवनमा एक/एक जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी बर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । त्यस्तै, ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।