काठमाडौं, असार २९ । देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक हजार एकसय चार जनाको उद्धार गरिएको छ । ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।
मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । यस्तै सिन्धुलीमा ६, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् ।