काठमाडौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको निरन्तर वर्षाको कारण तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पा, रामेछापलगायतका जिल्लाहरु डुबानमा पर्नुको साथै देशभर जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षले हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा जनजीवन प्रभावित बनेको हो ।
नेपाल प्रहरीले हालसम्म देशभर भएका घटनाहरुको तथ्याङ्क समेत सार्वजनिक छ । सो तथ्याङ्कअनुसार हालसम्म बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।
यस्तै, रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।
पर्सामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् ।
यसैबीच मकवानपुरमा पनि एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–३ की बालिका सञ्चना बलामी रहेकी छन् । खोटाङमा तीन जना बेपत्ता छन् ।
ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको मुलपानीमा पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । ढिस्को खसेर घर भत्कँदा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।
ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा एक/एक जनाको मृत्यु भएको छ भने काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एक/एक जना बेपत्ता भएको जनाइएको छ ।