चितवन, असार २२ । गृहमन्त्री रामबहादुर थापा(बादल)ले सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप प्रहरीमार्फत रोक्ने दाबी गरेका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २–१७५औँ समुहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको सोही शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गृहमन्त्री थापाले सूचना प्रविधिबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रालयले तयारी थालेको समेत बताए । उनले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, वृत्तिविकासका अवसरलाई तदारुकताकासाथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गरे ।
सोही अवसरमा गृहमन्त्री थापाले राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधवाट पीडितको संरक्षण र पीडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिबद्व हुन प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
दिक्षित हुन लागिरहेका प्रहरी कर्मचारीहरुको प्रशिक्षणको समय समाप्त भई परीक्षणको समय शुरु भएको हुनाले अवको यात्रा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यतर्फ उन्मुख हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ ।’ साथै, उनले कार्यसम्पादनको क्रममा स–साना वाधा र अडचनहरु स्वभाविक हुने हुँदा दीक्षित भइ जाने नवप्रवेशी प्रहरी सहायक निरीक्षकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा आफूले सिकेका ज्ञान, सीप, कलालाई पूर्णरुपमा पालना गरी राज्यले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्न शुभकामनासमेत दिए ।
सो अवसरमा गृहमन्त्री थापाले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवा विशुद्ध रुपमा एक ब्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागरिक र प्रहरीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताए । प्रहरी सेवामा कार्यरत रही सेवानिवृत्त हुँदा गर्वले छाती चौडा भएको महसुस हुनेगरी नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याउँदै महानिरीक्षक खनाले भने, ‘नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् ।’ उनले कानुनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन भन्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन समेत दिए ।
२०७५ साउन २७ गतेदेखि संचालित उक्त तालिममा तीन सय पाँच जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने प्रशिक्षार्थीहरुलाई अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।