काठमाडौं, असार १९ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी आज जेल चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी आज दिउँसो ४ बजे सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् ।
दुई बर्ष अघि अर्थात् २०७४ बैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौ जनालाई जेल सजायको फैसला सुनाएको थियो । फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी)लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो । फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो ।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार छ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबेला तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले यो भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा नेपाल प्रहरीबाट खटाइएको फर्मड् पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बख्तरबन्द गाडी (एपीसी), नाइट भिजन, मोबाइल हाउस, वाटर ट्रिटमेन्ट, वाटर ट्याङ्करलगायतका समान खरिदमा अनियमितता भएको भन्दै अदालतले नेपाल प्रहरीका तीन जना पूर्व महानिरीक्षक, दुई जना अतिरिक्त महानिरीक्षक तथा प्रहरीकै अन्य दुई जना अधिकारीलाई दोषी ठहर गरेको थियो ।
सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व आइजी ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम सिंह थापा र दिपसिंह थाङ्देन यसअघि नै अदालतको फैसलाअनुसार जेल चलान भइसकेका थिए । एक वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाएका ठकुरी भने हालसम्म फरार थिए ।
विशेष अदालतले ठकुरीविरुद्ध २ वर्ष कैद र विगोसमेत गरी चार करोड ८५ लाख ४४ हजार तीन सय ८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पछि सर्वोच्च अदालतले विशेषको फैसला उल्ट्याउँदै एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । चन्दलाई डिल्लीबजार जेल चलान गरिएको छ ।