काठमाडौं । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको तीन किलोमिटर लामो धावनमार्गको निर्माण सम्पन्न भएको छ । आगामी माघभित्रै उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ ।
तत्कालका लागि उक्त विमानस्थलमा ठूला विमानहरूले आकस्मिक उडान–अवतरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । त्यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प तयार भएको छ । भैरहवा विमानस्थलको पुरानो धावनमार्गलाई भने ‘ट्याक्सी वे’ बनाउने योजना छ । विमानस्थलमा टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्यांकी लगायत पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
चीनको नर्थवेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको यो विमानस्थल २०७४ पुसमै सम्पन्न गर्ने लक्ष्य थियो । तर भूकम्प, नाकाबन्दी, निर्माण कम्पनी र स्थानीय ठेकेदार कम्पनीबीचको विवाद, कच्चा सामग्री अभाव लगायत समस्याका कारण आगामी असार १५ सम्ममा निर्माण सक्ने नयाँ समयसीमा तोकिएको छ । विमानस्थलको सिभिल काम सकिएपछि अन्य काम यही भदौ–असोजसम्म सकिने र ढिलोमा २०७६ माघसम्ममा व्यावसायिक उडान गर्ने प्राधिकरणको तयारी छ ।
अबदेखि आन्तरिक उडानहरू पनि नयाँ धावनमार्गबाटै हुनेछन् । हाल ७२ सीट क्षमतासम्मका जहाजले मात्र उक्त विमानस्थलमा उडान–अवतरण गर्दै आएका छन् । अन्तरराष्ट्रिय स्तरको बनेपछि तीन सय सीटसम्मका ठूला विमानले उडान र अवतरण गर्न सक्नेछन् ।
रू. ६ अर्ब २२ करोड ५१ लाख लागतमा निर्माणाधीन विमानस्थलमा एशियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत लगानी हुनेछ । यसको दीर्घकालीन लक्ष्य दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रुलाई सेवा दिने रहेको प्राधिकरणले जानकारी दिएको छ ।