बारा । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले सूचना संकलनको नाममा परिचालन गरेका घुमुवा प्रहरीहरु अशुली धन्दामै लागेको प्रमाण न्युज अभियानका प्रतिनिधिहरुले फेला पारेको छ ।
बाराका तत्कालीन एसपी मीरा चौधरीले घुमुवाको टोलीबाट हटाएका भनिएका बदनाम प्रहरीहरुलाई संगठित गर्दै तस्करीका लाइन खोल्ने कार्य यहाँ व्यापक मात्रामा हुँदै आएको छ ।
एसपी भट्टराईले परिचालन गरेका घुमुवा प्रहरीहरुको असुली धन्दाले त यहाँका स्थानीय व्यावसायीहरु आजित भएका छन् । सूचना संकलनका नाममा घुमुवामा राखिएको भनिए तापनि व्यापारीहरुलाई अनेक बहानामा डर, त्रास एवं दुःख दिई रकम असुल्ने र नदिए उनीहरुको व्यापार व्यवसाय नै चौपट पार्ने क्रियाक्रलाप बाराको घुमुवाहरुले गर्दैआएका छन् ।
एसपी भट्टराईले परिचालन गरेका बिवादास्पद घुमुवा प्रहरीहरु को को हुन् ?
बाराका एसपी सानुराम भट्टराईद्वारा परिचालित सबै घुमुवा प्रहरीहरु बिवादास्पद छविका छन् । उनलेे परिचालन गरेका घुमुवा प्रहरीहरुमा सइ उपेन्द्र शाह, हवल्दारद्वय बृजकिशोर यादव, रामविनय सिंह र प्रहरी जवान विश्वम्भरराय यादव छन् । र, त्यस्को कमान्डर प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले गरिरहेका छन् । अहिले हवल्दार सिंह र जवान यादव र सइ शाहको असुली धन्दाले त यहाँका ठुला तथा साना ब्यावसायी आजित छन् ।
एसपी भट्टराईकै संरक्षण पाएपछि जिल्लामा जति बेनामी उजुरी आएपनि केही फरक नपर्ने उनीहरुको तर्क रहिआएको छ । उसो त गत पौष १ गते प्रदेश प्रहरी कार्यालयमा तानिएका घुमुवा सइ शाह ५ दिनपछि पुनः कार्यक्षेत्रमै फिर्ता भएपछि अशुली धन्दाले तीव्र पाएको हो । सई उपेन्द्र साहले लामो समयदेखि तस्करहरुसंँगको सेटिङमा रकमको लेनदेन गर्ने गरेका छन् । तत्कालीन समयमा बाराका एसपी मीरा चौधरी हुँदा धेरै विवादमा परेका घुमुवा सई साहको काज सिरहा भएपनि काज रद्द गराइ पुनः बाराको घुमुवारूपमा परिचालित थिए । उनलेे घुमुवा जिम्मेवारी पाएसँगै अहिले बारा कचहर्वा नाकाबाट मरिचको तस्करी निर्वाधरूपमा चल्दैआएको छ । भने, आफु विरुद्ध समाचार प्रकाशित नगर्न भन्दै यहाँका स्थानीय पत्रकार समेतलाइ खरिद गरिसकेको छ ।
एसपीका घुमुवाले गराए खुलेआम तस्करी
यता, बाराका एसपी सानुराम भट्टराईको कमजोर कमान्ड र बदनाम घुमुवा प्रहरीहरुको सहयोगमा यहाँको खजानी, मर्टिहर्वा, सिम्रौणगढ, मुसहर्वा लगायत क्षेत्रबाट खुलेआमरूपमा तस्करी भइरहेको छ । मुसहर्वाबाट फैयाज मियाँ, सुरेन्द्र साह कलवार, राजकुमार प्रसाद यादव र भारतीय नागरिक रमेश साहले तस्करीका लाइन पाएका छन् ।
मटिहर्वा नाकाबाट तस्करीको लाइन पाउनेहरुमा राज जोधियाँ केशरी, राजा केशरी, मानान् मियाँ, मुन्ना साह कलवार र लालबाबु साह मुख्य रहेका छन् । खजानी नाकाबाट सुवास कुशवाह, लालबाबु कुशवाह, थेना प्रसाद यादव, विनोद प्रसाद यादव, मुकेशप्रसाद यादव, मुन्ना साह तेली, अरविन्द साह कलवार, मिश्रीलाल साह कलवारले पाएका छन् । कपडा, खैनी तस्कर राम जोधियाँ, राजाकेशरी, गोदामवाला रूपमा चिनिने राजकिशोर साह, कपडा काम गर्ने राजकुमार प्रसाद यादव, नेप्सर मियाँ, रामचन्द्र प्रसाद यादव र मनान मियाँँ सँग छुट्टै व्यक्तिगत रकम लिने गरेको समेत थाहा हुन आएको छ । यी मध्य मनान मियाँ भारतीय हुन् ।
त्यस्तै, अन्य तस्करहरुमा सुभाष, लालबाबु कुशवाह, मुन्ना साह कानो, विनोद प्रसाद यादव, छेना प्रसाद यादव, अरविन्द साह, मिश्रीलाल प्रसाद साह समेतले सिम्रौणगढ खजानी क्षेत्रबाट मरिचको तस्करी सुरु गरेका छन् । बाराको इनर्वा, मटिअर्वा, बेल्दारी लगायत ठाउँबाट साइकल मार्फत धमाधम तस्करीका सामान ओसारपसार हुने गरेको छ ।
खैनीको ठूलो कारोवार गर्ने राजकिशोर, कपडाको तस्करीमा संलग्न नेप्सर बाबुलाल साह, सोनेलाल, गोरु तस्करीमा संलग्न ठेगन, कवाडीदेखी मरीच र सुपारी सम्मको तस्करीमा संलग्न कचर्वाका विजय यादव, सबै सामानको तस्करीमा संलग्न मुन्ना यादव, कुखुरा चल्लाको तस्करीमा संलग्न लक्की चन्द र धर्मेन्द्र चन्द एवं भैँसी कारोवारमा संलग्न खान साहेब र थारुबाट ठूलो मात्रामा रकम असुल्दै आएका छन् ।
भैँसीको कारोवारमा संलग्न फेगन, खान साहेब,कपडा तस्करीमा संलग्न सोनेलाल साह, बाबुलाल साह, खैनी तस्करीमा संलग्न राजकिशोर, मुसहर्वा चौकीबाट मरिचको तस्करी गर्दै आएका सुभास मुखियासँग सइ उपेन्द्र साह र हवल्दार राम बिनय सिंहसंँग नजिकको सम्बन्ध रहेको समेत बारा प्रहरी स्रोत बताउँछ ।
नेपाल प्रहरीले छाड्दै, सशस्त्र प्रहरीले पक्रदै
यता, बारामा नेपाल प्रहरीले छाडेको सामान सशस्त्र प्रहरीले धमाधम पक्रदै राजर्श्वमा दाखिला गर्दै आएको छ । सई उपेन्द्र साहको समूहले एक साता अगाडि तस्करहरुसँग रकम लिएर छोडेको सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि घट्ना छताछुल्ल हुन पुगेको हो ।
भारतबाट अवैधरूपमा भन्सार छली गरेर ना. १ त ७७६० र ना. ४ त ३३२८ नम्बरको ट्रयाक्टरमा ट्रली मुनी लुकाएर ल्याउँदै गरेको करिब ११ लाख रूपैयाँ बराबरको चोरी पैठारीको रेडिमेड कपडा सहित दुई जनालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको एपीएफ टोलीले विश्रामपुर गाउँपालिका – ३ खुदियाटोलास्थित सीमा इलाकाबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा - १ घर बताउने नाझा यादव र भारतकै मोतिहारी घर बताउने मुनिलाल पटेल रहेको सशस्त्रका प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए । तस्करीको सामानसहित पक्राउ परेका दुवै भारतीयले उक्त सामान आफूहरूले नेपाल प्रहरीका घुमुवालाई सेटिङ मिलाएर ल्याएको बताएका थिए । सई साह र हवल्दार सिंहले बारामा असुली धन्दा मच्चाइरहेका छन् । यी तस्कर र घुमुवाले प्रयोग गर्ने गरेको मोबाइल नम्बरको कल डिटेल हेरेमा पनि उनीहरूको सम्बन्ध कति नजिकको छ भन्ने कुरा स्पष्ट हुने स्रोतले बताएको छ ।
यसरी भित्रीन्छ तस्करीका सामान
मुसहर्वा प्रहरी चौकी भन्दा पारी भारतमा सहदेवा र महदेवा गाउँ पर्छ, उक्त गाउँ तल्लो जातिका मानिसहरू बस्ने बस्ती रहेका कारण तस्करहरूले ती बस्तीका घरहरूमा सामान ल्याई लुकाउने र प्रहरीका घुमुवाहरूलाई प्रयोग गरेर अनुकूल समयमा नेपाल भित्र्याउने काम गर्दैआएका छन् । अहिले बैरनियाँ क्षेत्रबाट सई उपेन्द्र साह र हवल्दार राम बिनय सिंहको समूहलाई मिलाइ तस्करहरूले सेटिङमा तस्करी गराइरहेका छन् ।
तेलकुवामा असइ कमलेशको अशुली आतंक
उता, तेलकुवा प्रहरी चौकीका असई कमलेश यादवको समेत अशुली धन्दा उस्तै छ । यसअघि कचहर्वा नाकामा इन्चार्जका रूपमा कार्यारत रहेका असइ यादवले सो, नाकाबाट केही निश्चित तस्करहरुलाई मोटो रकम लिई लाइन समेत दिँदै आएका थिए । सो, क्रममा उनलेे मरिच र कपडाको तस्करी गर्ने सुवास मुखियाँलाई लाइन नै खुलाएका थिए । उसो, त गण्डकस्थित प्रहरी चौकीमा रहँदा पनि असई कमलेश ज्यादै बदनाम भएका थिए ।
उनले त्यस क्षेत्रका रक्सी भट्टीदेखि ट्रान्सपोर्ट र साना मालबाहक सवारीसाधनलाई रोकेर रकम असुल्ने काम गरेपछि तत्कालीन एसपी मिरा चौधरीले जिल्ला तानेर थन्क्याएकी थिइन् । लामो समयदेखि बारामा नै कार्यरत रहेका कारण असई कमलेशले सबै तस्करहरु देखि व्यापारीहरूलाई चिन्ने र सम्बन्ध भएकै कारण अहिले उनको असुली आतंक तेलकुवा नाकामा मच्चिएको छ । घुमुवा असई कमलेशले एसपीलाई महिनावारी बुझाउनुपर्छ भन्दै तस्करदेखि व्यापारीसम्म पुगी खुलेआम रकम असुली गरिरहेका छन् ।
उनलेे रकम उठाउने तस्करमा राजकिशोर खैनी , नेप्सर, बाबुलाल साह (कपडा), फेकन र शून्यलाल (गोरु), विजय यादव (कवाडी, मरिच र सुपारी), मुन्ना यादव (सबै थोक गर्ने) र लक्की चन्द्र धर्मेन्द्र (कुखुरा चल्ला), थारु थानसाहेब (भैंसी), फैयाज मिया, सुरेन्द्र साह कलवार, राजकुमार प्रसाद यादव, रमेश साहले समेत सबैथरी तस्करी धन्दा गर्दैआएका छन् । त्यस्को अलावा मरिचको तस्करी गर्ने तस्करहरु रमेश कुमार यादव, मुन्ना जयसवालसँग समेत असई कमलेशको अत्यन्तै नजिक सम्बन्ध रहेको छ ।
बदनाम सइ कुर्मी भन्छन् : एसपीको लागी पैसा उठाउन आएको हुँ
यता, सई अक्ष्यलाल कुर्मी ज्यादै बिवादित र बदनाम भएका प्रहरी हुन् । जागिरको धेरै अवधी जिल्ला प्रहरी कार्यालय पर्सा र तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी साथै, सो मातहत पोष्टका प्रमुखका रूपमा रहे भने कतिपय अवस्थामा त उनी स्वयं घुमुवाका रूपमा परिचालित भएका थिए ।
एसपीलाई मासिक रूपमा रकम बुझाउने सर्तमा यहाँ आएको हुँ भन्दै सई कुर्मीको टोलीले पर्सौनी, नकटुवामा रहेका १० वटा भट्टीबाट अर्धमासिकरूपमा रकम असुल्ने गर्छन् । यी ठाउँका भट्टीहरू ठूलाठूला रहेका छन् र त्यहाँ उत्पादित रक्सी वीरगञ्ज, कलैया, पथैलया र सिमाना क्षेत्रमा व्यापकमात्रामा खपत हुने गर्छ । अर्धमासिक रूपमा यी भट्टीबाट उठेको रकम जिल्लाकै एसपीको नाममा समेत उठाउने काम यहाँ हुँदै आएको छ ।
यसबाहेक चेकप्वाइन्टबाट भुस ओसार्ने ट्रकहरूबाट प्रतिट्रक २ सयदेखि पाँचसय रुपैयाँसम्म रकम उठाउने गर्छन् भने ट्रान्सपोर्टका गाडीबाट समेत चेकजाँचका नाममा रकम अशुल्दै आएका छन् । चेकप्वाइन्टबाट मात्रै अवस्था हेरेर पाँचदेखि दश हजार रूपैयाँसम्म उठाउने गरेका छन् ।
चितवनको जुगेडीमा हुँदा समेत अशुलीमा मस्त भएका उनलाई तत्कालीन एसपी तथा हालका एसएसपी दीपक थापाले समेत जोगाउदै आएका थिए ।
कार्यालयको नाममा पेट्रोल माग्दै, असइ यादवलाई उन्मुक्ति ?
यता, ईलाका प्रहरी कार्यालय कोल्वीको मातहतमा रहेको इप्रका सिहर्वा (ख) श्रेणीमा कार्यारर्त तत्कालीन असइ सिकेन्द्र राउतको अशुलीधन्दा ब्यापक थियो । त्यहाँ इन्चार्ज भएर पुगेका उनलेे स्थानीयलाई दु:ख दिने काम गर्दैआएका थिए ।
निजले हनुमान चौधरी बर्सौनाको रक्सी भट्टीहरुबाट मासिक रूपमा २५ सय रुपैयाँ लिने गरेका छन् भने, पिपरा रक्सी भट्टीबाट मासिकरूपमा एक हजार रुपैयाँ, भारतबाट नेपालतर्फ ल्याउने कुखुराको चल्लाबाट मासिकरूपमा भारतीय एक सौ रुपैयाँ, बेलुवा कपडा पसलबाट मासिकरूपमा २५ सय रुपैयाँ , काठ चिरानबाट खुल्न नसकेको रकम मासिकरुपमा, उनकै संरक्षणमा काठ पोल्न बाहिरबाट ट्याक्टर मार्फत इट्टा भट्टाबाट लैजाने गरेको र सो बापत बिश्वनाथ यादवबाट तीन ट्याक्टरको ३५ सय रुपैयाँ लिने गरेका छन् ।
त्यस्तै, उनलेे स्थानीयबाट कार्यालय नाममा पेट्रोल माग गर्ने, त्यसपछि घरबाट आफ्नु छोरा बोलाइ पठाउने, साथै मन्दिर बनाउने भन्दै जवर्जस्ती रूपमा ढुंगागिट्टी, बालुवा, सिमेन्ट, छड आदि लगायत माग समेत गर्ने गरेका उनलेे त्यस्को अलावा गाउँघरमा स्थानीयहरु लाई तर्साउने, धम्काउने र पैसा उठाउने, कर्मचारी समेतलाई कुदृष्टी राख्ने, काममा पेल्ने, बिदा नदिने साथै, आफु भने उठन्थे गतिविधिमा लाग्ने गरेका छन् ।
गएको मंसिर ३ गते सिसवाका काठ तस्कर साइकल सहित पक्राउ परेकोमा पछि साइकल, मानिस दुबैलाइ प्रलोभनमा कार्वाही बिना नै छाडेको, मंसिर ४ गते पुनः ऐ. ऐ. ठाउँबाट काठ लगेबापत भन्दै ट्याक्टरबाट पाँच सय रुपैयाँ उठाएका थिए ।
मंसिर ६ गते गिट्टीको ठेकेदारबाट हजार रुपैयाँ लिइ कार्वाही बिना नै छाडेको थियो भने, लौटनमा शिवनारायण यादवको टु २० कालो कलरको बजाज मोटरसाइकल चोरी भएकोमा मोटरसाइकल धनीले सो, चौकीका कार्यालय प्रमुखलाई २० हजार रुपैयाँ दिएर चौधरी थर भएका तीन जना निर्दोष मानिसहरू लाइ पक्राउ गर्न लगाएको कार्यालयमा आउने चालचलन बुझे बापत समेत अतिरिक्त एक हजार रुपैयाँ लिने गरेको आरोपमा असइ यादवलाइ अहिले जिल्ला तानिसकेका छन् भने, स्पष्टीकरण सोधिएको छैनन् । जबकी उनीमाथी कार्यालय प्रमुखले आरोप बारे स्पष्टीकरण सोध्ने तयारी गरेको थियो ।
सिमराका घुमुवा ठाकुरको अशुली धन्दा तीब्र गतिमा
त्यस्तै, ईलाका प्रहरी कार्यालय सिमराका घुमुवा प्रहरी जवान हिरा ठाकुरको समेत अशुली धन्दा उस्तै छ । विशेषत: ती घुमुवाले यहाँका तस्करहरुसित मनलाग्दी रूपमा रकम उठाइरहेका हुन्छन् ।
घुमुवा प्रहरीले स्थानीय कुटे : ब्यावसायी
यता, मुलुकी अपराध संहिता २०७४ मा भएको व्यवस्था अनुसार प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुपुर्व जिल्ला प्रशासन कार्यालय वा अदालतबाट अनुमति लिएर मात्रै पक्राउ गर्नुपर्ने नियम छ । तर, बारा प्रहरीले भने बिना पुर्जी स्थानीयलाई नियन्त्रणमा लिएको मात्रै छैनन् कि कुटपिट समेत गरेको छ ।
गत, बैशाख २७ गते शुक्रबार बेलुका कलैयाको घण्टा घर नजिकै रहेको तारा स्विटस पसल अगाडी उभिरहेका कलैया उपमहानगरपालिका १ निवासी संजय साहलाई प्रहरी निरीक्षक निशान्त श्रीवास्तवको कमान्डमा आएर सादा पोशाकका प्रहरीहरुले केही सोध्नु छ भनी पसलभित्र गइ कुटपिट गरेको पीडितले बताएका छन् ।
तारा स्विटस पसलभित्र पुगेपछि मोबाइल समेत खोसेर बाहिर समेत जान नदिएका श्रीवास्तको टोलीले पसलबाट निस्केर बाहिर थुक्न जान लाग्दा बढि कुरा गरेको भन्दै प्रहरीको गाडीमा राखी जिल्ला प्रहरी कार्यालयमा ल्याइ कुटपिट गरेको साहले सुनाए ।
प्रहरीको कुटाईबाट घुडाँमा चोट लागेकाले दिशा पिसाव गर्न समेत समस्या भएको पीडितले बताएका छन् । भारतीय प्रिमियन लिग (आइपिएल) मा सट्टा बाजी गर्नेहरुलाई कलैयाको बजार क्षेत्रबाट पक्राउ गर्ने क्रममा साहलाइ पनि पक्राउ गरेपछि अनुसन्धान गर्दा सट्टा बाजीमा उनको संलग्नता नभेटिएको दाबी डिएसपी रंजित सिंह राठौरको छ
कर्मचारी तान्ने पठाउने जिम्मा सइ उपेन्द्रलाई
कुनै पनि प्रहरी अधिकारीलाई मातहतबाट जिल्ला तान्नुपर्ने भए सोको स्पष्ट कारण खुलाउनुपर्ने हुन्छ । तर, बारामा मातहत गएका प्रहरी अधिकारीहरु आफ्नु कार्यकालमा लामो समयसम्म सिमा थाना चौकीहरुमा बस्न नपाउने गरेको गुनासो गर्छन् ।
मातहत पुगेका एक इन्चार्जलाई सइ उपेन्द्र साहको सिफारिसमा एसपी सानूराम भट्टराईले तानेपछि घट्ना सार्वजनिक हुन पुगेको हो । साहले भनेअनुसारको काम नगरेको र अतिरिक्त रकम उठाएर नदिएको भन्दै सइ साहको जोडबदलमा जिल्ला तानिएको एक सइले बताए ।
साथै, उनलेे जिल्ला उपेन्द्र साहले चलाएको गुनासो समेत गरे । एसपी सानूरामसंग राम्रो सम्बन्ध रहेको भन्दै पैसा लिएर मातहत पठाउने र नदिए वा उनलेे गरेको काममा कुनै बाधा एवं अवरोध पुर्याए तत्कालै एसपीलाई जाहेर गरेर जिल्ला थन्क्याउने समेत गरेको गुनासो असन्तुष्टि प्रहरीहरुको छ ।
पैसा माग्दा नदिएपछि चरीत्र हत्या भयो : हवल्दार सिंह
यता, घुमुवा प्रहरी मध्य एक हवल्दार रामबिनय सिंहले आफूलाई पत्रकारले भनेअनुसारको रकम नदिएको आरोपमा चरीत्र हत्या गरेको गुनासो गरेका छन् ।
हामीसंग शनिबार टेलिफोन सम्पर्कमा आएका घुमुवा प्रहरी हवल्दार सिंहले राजधानीबाट प्रकाशित एक साप्ताहिकका पत्रकारले महिनावारी पाँच हजार रुपैयाँ मागेको र नदिएको खण्डमा चरीत्र हत्या गर्दै हिंडेको बताए ।
उनलेे ती पत्रकार सर्लाहीमा बस्ने गरेको र उनलेे माथि सम्म रकम बुझाउनुपर्ने भन्दै आफूलाई पाँच हजार रुपैयाँ दिनुपर्ने भन्दै भनेकोमा आफूले त्यसलाई इन्कार गरेपछि अफहवा (हल्ला) फैलाउदै हिंडेको उनलेे सुनाए ।
आर्थिक सहयोगको लागी बारम्बार दबाब दिएको अडियो प्रमाण रहेको उनलेे बताए । साथै, स्थानीय एक टेलिभिजनमा कार्यारर्त पत्रकार समेतले आफूलाई बारम्बार भेट गर्न आग्रह गरेको र नभेट्ने बताएपछि आफ्नु पछि लागेको हुन सक्ने हवल्दार सिंहको थप भनाइ थियो ।
ट्राफिक पोस्ट पथलैयामा असई थापाको लुट
उता, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मातहतमा रहेको अस्थायी ट्राफिक पोस्ट पथलैयाका असई राजकुमार थापालाई जोगाउने खेल सुरु भएको छ । बाराको महेन्द्र राजमार्ग अन्तर्गत ट्राफिकका धेरै चेकपोष्टहरु रहेका छन् । ती चेकपोष्टहरू ट्राफिक प्रहरीका लागि असुलीको अखडा बन्दै आएका छन् ।
पथलैयास्थित ट्राफिक पोष्टमा कार्यरत असई राजकुमार थापाको असुलीधन्दाले यहाँका यातायात व्यवसायीहरु आजित बनेका छन् । यसअघि पनि यस पोष्टमा अवैध रकम असुली हुने गरेको थियो ।
यो राजमार्गमा गुड्ने ट्रकहरू कोही पनि पैसा नदिई यो बाटो हिँड्नै नसक्ने अवस्था थियो । हाइवेमा बसेका ट्राफिक प्रहरीहरु खुलेआमरूपमा पैसा असुल गरिरहन्थ्यो । एकैछिनमा धेरै गाडीसँग पैसा उठाइन्छन् । यो सानो चेक पोष्टमा बसेका ट्राफिक प्रहरीका असई थापाले प्रत्येक गाडीसँग पैसा उठाउँछन् र बाहिर बसेका अरू सहयोगी ट्राफिक प्रहरी कसैले देख्छ की भनी उनलाई सुरक्षा दिइरहेका हुन्छन् ।
बाघ हुँ भन्ने प्रहरी निरीक्षक रिपेन्द्र तानिए !
यता, बाराका स्थानीय एक सञ्चारकर्मीलाई म यहाँको बाघ हुँ भन्ने एक प्रहरी निरीक्षक प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन् । अनुसन्धानको सिलसिलामा प्रदेश प्रहरी कार्यालयले पथलैया ट्राफिक प्रहरी कार्यालयमा कार्यारर्त प्रहरी निरीक्षक रिपेन्द्र सिंहलाई तानिएको बताए ।
उनलेे ट्राफिक प्रहरीमा भएको अशुली धन्दाका बिषयमा खबर ब्रेक गर्ने बाराका एक स्थानीय पत्रकारलाई म यहाँको बाघ हुँँ, तँ जस्ता धेरै पत्रकार बारामा रहेको भन्दै क्यामेरा खोस्नुको साथै, अपशब्द एवं अभद्र ब्यावहार गरेका छन् । उनलेे गरेको हर्कतले सञ्चारकर्मीमाथि हमला भएको स्पष्ट देख्न सकिन्छ ।
स्थानीय पत्रकार भन्छन् : बाराका एसपी गफाडी
यता, बाराका स्थानीय पत्रकारहरुले समेत एसपी सानुराम भट्टराईको चर्को आलोचना गर्न थालेका छन् । काम भन्दा गफ धेरै गर्ने उनलेे बारामा भइरहेको तस्करीका धन्दालाई पुर्णरुपमा बिस्थापित गर्न सकेका छैनन् ।
नयाँ एसपी भएर जिल्ला छिरेपछि भट्टराईले बदमास प्रहरीलाई कुनै हालतमा नछाड्ने र तस्करहरुसँगको झालो तोडेर नै छाड्ने भन्दै सञ्चारमाध्यममा गफ नै लगाए ।
तर, उनको गफ त्यतिबेला अन्त्य भयो जति बेला उनलेे कार्यभार सम्हालेको केही दिनमा नै हत्याहिंसा शृङ्खलाबद्ध रूपमा बढ्यो अनि उनैले घुमुवामा राखेका हवल्दार सुद्वामा हजारा सेवाग्राहीसँग
एकलाख रूपैयाँ घुस लिँदालिँदै अख्तियारको स्ट्रिङ्ग अप्रेसनमा नै परे ।
डिएसपी पददेखि बिवादित थिए एसपी भट्टराई
उसो, त प्रहरी निरीक्षकबाट जागीरमा प्रवेश गरेदेखि नै विवादास्पद बन्दै आएका एसपी भट्टराई असक्षम एवं बिवादित प्रहरी अधिकारी हुन् ।
उनलेे बाराको नेतृत्व राम्रोसँग सम्हाल्न सकेनन् । उनको कार्यकालमा केही घुमुवा प्रहरीकै कारण बारम्बार बिवादित बन्दै गएका छन् । सिन्धुलीमा कार्यरत रहँदा समेत उनी विवादमा आएका थिए ।
प्रहरी निरीक्षकका रूपमा तत्कालीन वडा प्रहरी कार्यालय, सिंहदरबारको प्रमुख रहँदादेखि नै घुमुवा राखेर पैसा उठाउने गरेका कारण विवादमा तानिएका भट्टराई महाराजगञ्ज प्रहरी वृत्तको डिएसपी हुँदा समेत ज्यादै बदनाम भएका प्रहरी अधिकृत थिए ।
कार्य सम्पादन र मुल्यांकन भन्दा शक्ती केन्द्रको आडमा उनले विभिन्न प्रहरी कार्यलयको जिम्मेवारी समाल्दै आएकाछन् ।