सिन्धुपाल्चोक - २०७२ को भूकम्प, भोटेकोशीको बाढी र जुरेको पहिरो पछि तहस-नहस र सुनसान भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्र अब फेरी पुन–सुचारु हुने अवस्थामा आउन लगेको छ । भूकम्पपछि बन्द रहेको नाका सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल-पहल सुरु भएको छ। चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुचारु हुन लागेको छ। अन्तराष्ट्रिय स्तरको सुख्खाबन्दरगाह निर्माणको काम सकिन लागेकाले चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाहा नेपाललाई हस्तान्तरण गर्ने र अब तातोपानीको भन्सार सम्बन्धी सबै काम यहीँबाट हुने तातोपानी भन्सार प्रमुखले जानकारी दिए ।
दुई देशको सिमा–नाका जोड्न पक्की मोटरेबल पुल निर्माण भएको छ साथै एउटा अन्तराष्ट्रिय स्तरको विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न छ । भोटेकोशी नदीमाथि निर्माण भएको १ सय ६० मिटर लम्बाइको पक्की ट्रष्ट पुलमा इन्जिनियरिङ रुपमा असाध्यै राम्रो डिजाइन गरिएको छ । ०७० पुस ५ गते सुख्खा बन्दरगाहाको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी बाढीले निर्माण कार्य रोकिएको थियो ।
भूकम्पपछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण भएको छ । भूकम्प लगत्तै तातोपानी भन्सारबाट हिँडेका भन्सारका कर्मचारीहरु र्फकन थालेका छन् । राजधानीबाट नजिकै रहेको भन्सार भएकाले पनि विगतमा यहाँ आउनका लागि कर्मचारीहरु निकै मेहनत गर्थे । दुई अधिकृतसहित १ सय बढी कर्मचारीहरु यसअघि कार्यरत भए पनि भूकम्प लगत्तै सबै कर्मचारी भागेका थिए । नाका सञ्चालन हुनै लाग्दा भन्सार विभागले कर्मचारीहरु पठाउन सुरु गरेको छ । सुरुमा एकजना नासुसहित बढीमा ८ जना कर्मचारी पठाउन लागिएको छ ।
नेपाल चीन सीमाक्षेत्र र हालको भन्सार कार्यालय रहेको भन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खाबन्दरगाह अन्तराष्ट्रिय स्तरको छ । ४.२ हेक्टर क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।सुख्खा बन्दरगाह भित्रै बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण गरीएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गाे र गोदामसमेत आधुनिक डिजाइनमा निर्माण गरिएको छ । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।
नेपालमा हालसम्म भएका सुख्खा बन्दरगाह मध्ये सबै भारतीय नाका क्षेत्रमा अवस्थित छ भने चीनसँग सीमा जोडिएको क्षेत्रमा यो पहिलो अन्तराष्ट्रिय स्तरको सुख्खा बन्दरगाह हो। चिनियाँ पक्षले जेठ महिनामा सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नै तयारी गरेको छ। नाका सुरु हुनै लाग्दा व्यापारिक कारोबारका लागि सुख्खा बन्दरगाहमा भन्सार प्रणाली र नेटवर्किङ जडानका लागि कर्मचारीहरुले निरीक्षण गरेको बस्नेतले जानकारी दिए । भन्सार लगायत यस क्षेत्रमा आवश्यक पर्ने इन्टरनेटका लागि नेपाल टेलिकमलाई आग्रह गरिएको उनले बताए ।