काठमाडौं, वैशाख ३१ । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धले विश्वको शेयर बजारमा ठूलो गिरावट आएको छ । चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जेठ १८ (जुन १) देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वको शेयर बजारमा ठूलो गिरावट आएको हो ।
चीनले अमेरिकी सामानमा थप कर वृद्धि गर्ने घोषणा बाहिरिएलगत्तै सोमबार र बजाविश्वभरका शेयर ओरालो लाग्न पुगेका थिए । तर, नेपाली पुँजी बजारलाई भने अमेरिका र चीनबीचको व्यापार युद्धले कुनै प्रभाव पारेन । सोमबार नेपाली शेयर बजारमा हरियाली छाउन पुग्यो । नेपाली पुँजी बजार मापक नेप्से सूचक सोमबार ६.३० विन्दुले बढेर १३०१.३४ विन्दुमा पुगेको छ । अमेरिकाले दुई सय अर्ब डलरबराबरको चिनियाँ सामान आयातमा करको दायरालाई दोब्बर गरेको तीन दिनपछि चीनले यस्तो कदम चालेको हो ।
विश्वका शाक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएसँगै विश्वका शेयरबजारमा पनि यसले हलचल मच्चाएको छ । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै एसियाली शेयर बजारमा ठूलो गिरावट आउन पुगेको थियो । त्यतिबेला पनि नेपालको शेयर बजारलाई ट्रम्पको चेतावनीले कुनै प्रभाव पारेको थिएन् । बरु उल्टै दोहोर अंकले बढ्न पुगेको थियो ।
चीन र अमेरिकाबीचको आर्थिक द्वन्द्वले विश्वको शेयर बजारमा अझै असर पार्ने बिज्ञहरुको धारणा छ । सोमबार अमेरिकी र चीनको व्यापार युद्धले संघाई, हङकङ तथा सिंगापुर लगायतका विश्वका अन्य शेयर बजारमा गिरावट आएको छ । विश्व अर्थतन्त्रको पहिलो र दोस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउने प्रयास गरिए पनि सफल हुन सकेको छैन् ।
अमेरिका र चीनले गत गर्ष एकअर्का विरुद्ध तीन सय ६० अर्ब अमेरिकी डलर बराबारका सामानमा कर वृद्धि गरेका छन् । तर,अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप कर वृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति गरे पनि पछिल्लो समयमा भएका छलफल बिना निष्कर्ष टुंगिएका छन् ।