३० वैशाख,काठमाडौं । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।
फेसबुक जस्ता सामाजिक सञ्जालहरुबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिहरु माथि ढुङ्गा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो ।
फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई श्रीलंकाली अधिकारीहरुले पक्राउ गरिएका छन । उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए-एक दिन तिमिहरु रुनेछौ । मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए ।
आइतवार अबेर र सोमबार विहानसम्म सरकारले कुरुनेगाला जिल्लाबाट सामाजिक सञ्जालमार्फत घृणा फैलाउने व्यक्तिहरुको समूहलाई नै पक्राउ गरेको छ ।
श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् ।
सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ । श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।