फलेवास पर्वत, २५ असार - गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् ।
पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् । पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका हुन् ।
स्थानीय तहबाट भुक्तानीका लागि सिफारिश गर्न ढिलाइ भएका कारण पीडित लामो समयसम्म पनि दोस्रो वा तेस्रो किस्ता पाउनबाट वञ्चित बनेका छन् । रकम नपाउँदा कतिपयको निर्माणाधीन आवास नै अलपत्र परेका छन् ।
जिल्लाका सातै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए । विहादी, पैंयु र जलजला गाउँपालिकामा खटिएका निकै ढिलो गरी कार्यक्षेत्रमा पुगेका थिए । पहिलो किस्ता लगेकाहरु काम शुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्योल हुँदा मारमा परेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार भूकम्पमा परी जिल्लाका पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमवापत रु ५० हजार लगिसकेका छन् भने अझै ४९५ जना पहिलो किस्ता लिन आएका छैनन् ।
दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारिश लिनै नआएको एकाइ प्रमुख तथा जिल्ला इञ्जिनीयर जगदीश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहलाई छिटो भुक्तानी सिफारिश गरेर पठाउन ताकेता गरिएको भए पनि अझै आइसकेका छैनन् ।
घर बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाइ भएको पाइएको छ ।हालसम्म पहिलो किस्तावापत रु २३ करोड ८७ लाख वितरण भइसकेको छ भने दोस्रो किस्तावापत रु आठ करोड ७६ लाख वितरण भइसकेको छ ।
कतिपयको नाम परिवर्तन भएको, अर्काको जग्गामा बसोबास गरेको र दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको कार्यालयले जनाएको छ ।