काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनाको समयमा करिब १० खर्ब रुपैयाँ बराबर व्यापार घाटा देखिएको छ।
आर्थिक वर्ष २०७५-७६ को चैत मसान्त सम्ममा ९ खर्ब ९१ अर्ब ७८ लाख ८८ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो।
यस अवधिमा मुलुकले कुल ११ खर्ब ३१ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख रुपैयाँ बराबरको आयात र ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजा रुपैयाँ बराबर मात्रै निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ।
अघिल्लो आर्थिक वर्ष २०७४-७५ को सोही अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब १२ अर्बभन्दा बढी थियो। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ९ महिना अवधिमा व्यापार घाटा करिब २३ प्रतिशतले बढेको देखिन्छ।
यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलव ८ प्रतिशत र निर्यातको हिस्सा ६ दशलमव २ रहेको छ।
समीक्षा अवधिमा सबैभन्दा धेरै आयात भएको वस्तुमा ईन्धन तथा पेट्रोलियम पदार्थ आयात भएको देखिएको छ । ९ महिना अवधिमा नेपालले कुल १ खर्ब ८२ अर्ब ४४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल १ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकले देखाउँछ।
त्यसैगरी सोही अवधिमा १ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको फलाम तथा स्टीलका सामाग्री नेपाल भित्रिएका छन्। मेसिनरी वस्तुको आयात ८९ अर्ब ७७ करोड रुपैयाँ बराबर, सवारी साधानको आयात ६९ अर्ब ८० करोड रुपैयाँ बराबर र विद्युतीय सामाग्रीको आयात ६५ अर्ब ७१ करोड रुपैयाँ बराबर भएको देखिन्छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालले बढी निर्यात गरेका वस्तुहरुमा सबैभन्दा धेरै ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको वनस्पति घ्यु निर्यात भएको छ। त्यसैगरी ७ अर्ब २४ करोड रुपैयाँ बराबरका लत्ताकपडा, ५ अर्ब ७६ करोड रुपैयाँ बराबरका कार्पेट, ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको चिया तथा कफि र ४ अर्ब ९७ करोड रुपैयाँ बराबरका स्टील तथा फलामका वस्तु निर्यात भएका छन्।