काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध 'स्टिङ अप्रेसन' अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउने काम गर्दै आएको छ। घुस लिने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम दिँदै आएको छ। सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने गरेका छन्। यसका लागि उसले दिएका पैसाका नोटको फोटोकपी गरी रेकर्ड राख्दै आएको छ। यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई 'स्टिङ अपरेसन' भन्ने गरिएको छ।
तर उच्च अदालतका एक कर्मचारीलाई स्टिङ अप्रेसनका लागि भन्दै अख्तियारले दिएको तीन लाख रुपैयाँ नै हराएको पाइएको छ।
मुद्दा मिलाउन वकिलको ल फर्मबाट पक्राउ परेका उच्च अदालत तुल्सीपुर नेपालगञ्ज, इजलासका टाईपिस्ट नायब सुब्बा पदमा कार्यरत कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्ति जारी गरेको थियो। तर अख्तियारले उक्त रकम पाठकसँग तत्काल फेला पार्न सकेको थिएन। अख्तियारको बुटवल सम्पर्क कार्यालयले पाठकलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पाठकले मुद्दा जिताइदिने भन्दै घुस मागेपछि सेवाग्राही अख्तियारको कार्यालय पुगेका थिए। अदालतको मुद्दा मिलाउन एक कर्मचारीले घुस मागेको जानकारी राएपछि स्टिङ अप्रेसन गराउन भन्दै फोटोकपी गरेर ३ लाख रुपैयाँ दिएको थियो।
अख्तियारको यही योजनाअनुसार अख्तियारको टोलीले सेवाग्रही र पाठकलाई निगरानी गर्न थाल्यो। टाईपिष्ट नासु पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लेनदेन गर्न नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्री लयर्स च्याम्बरमा पुगे।
सेवाग्राहीले पाठकलाई रकम दिए। त्यसको केही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लियो। तर पाठकसँग अख्तियारले रकम फेला पारेन। पछि थप अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको रहस्य खुल्यो।
पाठकको चलाखी देखेर अख्तियारको टोली नै अचम्ममा पर्यो।
अख्तियारको बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार नियन्त्रणमा लिएको कागज गराएर केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ।
वकिलको ल–फर्म (नेपालगञ्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ पर्नुले अदालत भित्र हुने भ्रष्टाचार र वकिलको संलग्नताबारेपनि अख्तियारले अनुसन्धान थालेको छ।
थप अध्ययनका लागि पाठकलाई विशेष अदालतबाट १० दिनको म्याद थप भएको छ। यसअघि पाठक विशेष अदालतमै कार्यरत रहेका थिए। समयक्रममा उनी सोही अदालतमा भ्रष्टाचार मुद्दाको अभियुक्त भई आइपुगेका छन्।
यसअघि काठमाडौ जिल्ला अदालतका एक कर्मचारी रंगेहात घुस सहित पक्राउ परेका थिए। मुद्दा मिलाई दिने बहानामा ट्रेड युनियनका कर्मचारी नेता नै पक्राउ परेपछि न्यायाधीश समेत विवादमा तानिएका थिए।