डडेल्धुरा, ५ भदौ — वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् ।
भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीले कटान गर्न थालेका छन् ।
दुईदर्जन बढी गाउँ बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयले बताउनुभयो । परशुराम नगरपालिकाका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी र सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी लगायतका दर्जनौँ गाउँ नदी कटानका कारण जोखिममा परेका छन् । यसले गर्दा यस क्षेत्रको उब्जाउ जमीन बगरमा परिणत हुँदै गइरहेको स्थानीयवासी कलावती बोहोराले बताउनुभयो । ४५ हजार जनसङ्ख्याको यस क्षेत्रमा ३५ प्रतिशत जनसङ्ख्या बाढीपहिरोको जोखिममा छन् । धान उत्पादनका लागि जिल्लाकै प्रसिद्ध मानिएको यो क्षेत्रमा खेत नदीले बगाएपछि बगरमा परिणत भएका छन् ।
अहिले खाद्यान्नको अभाव हुँदै गइरहेको छ । वर्षेनी भइरहेको कटानले स्थानीय निकायलाई समेत ठूलो चुनौती थपेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताउनुभयो ।
चुरे क्षेत्रमा भइरहेको वन बिनाससँगै यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गइरहेको छ । वर्षातको समयमा एक गाउँबाट अर्को गाउँ जान किदैन । जिल्लाकै आधा जनसङ्ख्याको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमले वर्षेनी सुरक्षित स्थानमा बसाइँसराइ गर्नुपर्ने बाध्यता छ । नदी तथा खोलामा आवश्यकता अनुरुप पुल निर्माण नहुँदा वर्षातको समयमा झनै समस्या हुने गरेको छ । भित्रि मधेशमा रङ्गुन नदीले कटान गर्न थालेपछि विगत दुई वर्षदेखि सो नदी र पुन्तरा र अन्य खहरे खोलामा तारजाली सहितको पक्की तटबन्ध निर्माण शुरु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
रङ्गुन नदीको १० किलोमिटर बढी क्षेत्रमा बाढीकटान रोक्न तटबन्ध निर्माण भइसकेको छ । तटबन्ध निर्माण भएसँगै रङ्गुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भइरहेका भए पनि अन्य ग्रामीण क्षेत्रमा बाढीको जोखिम कायम छ । करीब १० वर्ष आगाडि परशुराममा बाढी जाँदा मानवबस्ती र खेतीयोग्य उर्वराभूमी बगरमा परिणत भएको थियो ।
–––